बेलायतमा लकडाउनले ‘साइकल राइड च्यारिटी’ प्रभाबित,अब डिसेम्बरमा २७ गर्ने,

लण्डन। हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रेमा संचालन भै रहेको बालगृहका बालबालिकाहरूको सहयोगार्थ आयोजना गर्न लागिएको साइकल राइड फर च्यारिटी (Cycle Ride for Charity ) अब डिसेम्बर २७ तारिख, आइतबार हुने आयोजकहरुले जनाएका छन्। यस अघि नोभेम्बर सात तारिखका दिन आयोजन गर्ने निश्चित भएको कार्यक्रम बेलायत सरकारले यही बिहिबारदेखि इंगल्याण्डमा लकडाउन घोषणा गरेकाले मिति पर सार्नुपरेको गैर आवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषद यूकेका अध्यक्ष दीपक श्रेष्ठले जनाए।

गैर आवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषदको संयोजनमा उक्त च्यारिटी राइड गर्न लागिएको हो । उक्त कार्यक्रममा साइकल यात्रीहरुले दक्षिण पूर्वी लन्डनको उलवीचबाट समुद्री तट ब्राइटनसम्म यात्रा गर्ने छन् । एकतर्फि ६९ माईल दूरी रहेको सो साइकल यात्रामा लगभग ६ घण्टा समय लाग्नेछ । यात्राको क्रममा हेल्थ एण्ड सेफ्टी, मेन्टिनेन्स लगायतका कुराको जिम्मेवारी यस कार्यक्रमको संयोजन गरेका Woolwich Arsenal Riders Club (WARC) तथा क्लबका सदस्यहरू, हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, कोषाध्यक्ष सचिन श्रेष्ठ, गैर आवासीय नेपाली संघ यूकेका महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरूंग, क्याट यूकेका अध्यक्ष जीवन सेन, नेपाली युथ एसोसिएशन यूकेका अध्यक्ष लक्षुमन गुरूंग तथा सुरज गुरूंग र अमिर श्रेष्ठले लिएका छन् ।

कार्यक्रमको सहयोगीको रूपमा गैरआवासीय नेपाली संघ यूके, हेल्प नेपाल नेटवर्क यूके र नेपाली युथ एसोसिएशन यूके रहेका छन्। धुलिखेलमा निर्मित बालगृहका विद्यार्थीहरूका लागी “खाना पुगोस्, तातो लगाउन पुगोस्” भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको हो । संकलित रकमको केहि अंश बुद्ध फाउण्डेसन यूकेद्वारा निर्माणाधीन अवस्थामा रहेको बृद्ध आश्रमलाई सहयोग गरिनेछ ।

यस पवित्र कार्यको लागि यथासक्दो आर्थिक सहयोग गर्न गैर आवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषद यूकेका अध्यक्ष दीपक श्रेष्ठ तथा सचिव गोविन्द खरेलले आग्रह गरेका छन्। ‘साइकल राइड फर च्यारिटी’ कार्यक्रमलाई सफल बनाउन सहयोगका लागि इंग्ल्यान्ड राज्य समन्वय परिषदको खेलकुद विभागका संयोजक तथा सह-कोषाध्यक्ष चन्दन गुरुङले पनि सबैलाई अनुरोध गरेका छन्। जस्ट गिभिंगको यो लिंकमा गएर पनि सहयोग प्रदान गर्न सकिने हेल्प नेपाल नेटवर्क युकेले जनाएको छ।