
(एजेन्सी) भनिन्छ, प्रेमिका आफूभन्दा सुन्दर भयो भने प्रेमीलाई सँधै ‘उनले कतै छाडेर जान त होइन’ भन्ने चिन्ताले सताइरहन्छ । धेरै प्रेमीहरु यही चिन्ता लिएर बाँच्न बाध्य छन् । तर, चीनका एक युवकले भने यो चिन्तालाई भगाउने अनौठो उपाय अपनाएका छन् ।
अरुले आफ्नी सुन्दर प्रेमिकालाई चोरिदिन्छन् भनेर ती युवकले दुई वर्ष लगाएर आफ्नी प्रेमिकालाई मोटी बनाउन सफल बनेका छन् ।
चीनको गुवाङडोङ प्रान्तका यु प्यान नाम गरेका ती युवकले आफ्नी प्रेमिका यान टाईसँग केही वर्षअघिदेखि डेट गर्न थालेका थिए । जब उनीहरुले पहिलो पटक भेटेका थिए यान टाईको तौल मात्र ४४ केजी थियो र उनी निकै राम्री देखिन्थिन् । तर, प्रेमिकाको सुन्दरतानै उनको डरको कारण बन्यो । आफ्.नी प्रेमिका सुन्दर भएकोमा प्यानलाई भने सँधै अरुले खोजिदिने पो होकी भन्ने चिन्ताले सताइरह्यो । त्यही बीच प्यानले आफ्नो प्रेमिकालाई कसरी आफूसँगै राख्ने भन्ने योजना खोज्न थाले । अनि एक दिन उनले आफ्नी प्रमिकालाई मोटी बनाउने निधो गर्न पुगे ।
दुई वर्षको अन्तरालमा प्यानले यान टाईलाई धेरै खुवाउन थाले । कहिले उनी मिठो खाजा त कहिले मिठो खाना खुवाउन लान्थे । राती पनि उनलाई उठाएर स्नाक्स खान दिन्थे । यसरी विस्तारै भए पनि उनको योजना सफल बन्यो । अहिले यान टाईको तौल दोब्बर भएर ८९ किलो पुगेको छ ।

अब तौल बढेपछि यान टाई आफूसँगै रहने कुरामा ढुक्क बनेपछि २५ वर्षीय प्यानले भर्खरै मात्र विवाहको प्रस्ताव गरेका छन् । यसबारेमा यान टाई के सोचिरहेकी छिन् भन्ने चाहीँ अझै रहस्य नै रहेको छ । तर, तस्विर हेर्दा भने उनी खुसी नै देखिन्छिन् ।








