गाउँघरमा खेतबारी बाँझै राखेर युवा कामको खोजीमा विदेश जान तँछाडमछाड गरिरहेका छन् । अहिले नेपालमा त्यस्तो युवा सायदै भेटिएला जसले विदेश जान पखेटा नहालेको होस् । तर,गर्ने हो भने आफ्नै देशमा पनि धेरै गर्न सकिन्छ । विदेशमाभन्दा राम्रो कमाइ यही गर्न सकिन्छ ।
नेपालमा नै केही गर्न सकिन्छ भन्नेका लागि रौता–४ उदयपुरका ७० वर्षीय जितुहर्क तामाङ प्रेरणाका स्रोत हुन सक्छन् । उनले ७० वर्षको उमेरमा पनि बाख्रा पालन र तरकारी खेती गरेर मनग्ये आम्दानी गरिरहेका छन् । उनको मासिक आम्दानी नै सवा लाखभन्दा माथि हुन्छ ।
‘हामीले गर्ने हो भने यही पनि धेरै अवसर छन्,मरुभूमिको तातो तावामा बसेर रगत पसिना बगाइरहनु पर्दैन’ तामाङ भन्छन्,‘म यो वृद्द शरीरले त यही केही गरिरहेको छु भने जोस,जाँगर र उमेर भएकाले यहाँ धेरै गर्न सक्छन् ।’
पञ्चायतकालमा दुई पटक प्रधानपञ्च र बहुदलकालमा एकपटक गाविस अध्यक्ष भएका तामाङको गोठमा अहिले सयभन्दा बढी माउ बाख्रा छन् । टाट्नामा १३ वटा त खसी नै छन् । १२ रोपनी जग्गामा काउली,मुला,टमाटर,खुर्सानीलगायत तरकारी फलेका छन् । यी सबै व्यवसायबाट उनको वार्षिक आम्दानी १५ लाख रुपैयाँजति हुन्छ । यसका साथै उनको कुटानी पिसानी गर्ने मिलसमेत छ । तर,उनी यो उमेरमा पनि उत्तिकै उर्जाको साथ काम गरिरहेका छन् । भन्छन्,‘मेरो काममा उमेरले कुनै बाधा पुर्याएको छैन,जति धेरै काम गर्यो उसित नै फुर्तिलो महसुस गर्छन् ।’
उनी हरेक दिन बिहान ४ बजे उठेर आर्थिक उपार्जनमा लाग्छन् । उनकै अनुसरण गरेर गाविसका ३५ भन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका छन् । यसले उनलाई निकै आनन्द महसुस हुन्छ । आजको कारेबार दैनिकमा कुराकानीमा आधारित गोपाल पोखरेलको एक सामग्री प्रकाशित छ ।






