काठमाडौँ : आमरण अनशन तोड्न सरकारले गरेको आग्रहलाई डा. गोविन्द केसीले अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिकित्सा शिक्षा सुधारका सबै माग पूरा हुने चरणमा रहेको जनाउँदै सत्याग्रह तोड्न डा. केसीलाई आग्रह गरेका थिए ।
‘वार्ता टोली गठन नगरीकनै जनताको माग पूरा गर्नुपर्थ्यो तर वार्ता टोली नै गठन गर्नु त परै जाओस्, सरकारले सत्याग्रह फिर्ता लिनुस् भन्नु दुर्भाग्यपूर्ण छ,’ डा.केसीले भने ।
डा. केसीले ३ करोड नेपालीका लागि उठाएको मुद्दाको हकहितमा नभई बिचौलिया, माफिया, दलाल, अपराधीको स्वार्थ पूरा गर्न र आफ्नो दम्भ देखाउन सरकार व्यस्त रहेको प्रतिक्रिया दिए । शारीरिक रूपमा कमजोर भइसकेका उनले आक्रोश पोखे, ‘वार्ता टोली गठन नगर्ने तर सत्याग्रह फिर्ताको आग्रह गर्ने ? संविधानले लोकतान्त्रिक गणतन्त्र भनेको छ, यो ओलीतन्त्र त होइन नि !’
सरकारले माग पूरा गरे एक मिनेट पनि नकुरी सत्याग्रह फिर्ता लिने उनको भनाइ छ । ‘म जनताको हकहितका लागि लडेको हो, अति साधारण माग छन् । ती पूरा हुनुपर्छ,’ उनले भने, ‘मन्त्रिपरिषद्को अनुरोध भन्ने कि के भन्ने, त्यो मलाई स्वीकार्य छैन ।’ डा. केसीले सरकारले जनमतप्रति बफादारी नदेखाएको आरोपसमेत लगाए । ‘जनताले भोट दिएर उनीहरू सत्तामा पुगेका हुन् । जनताले आफ्नो पेट काटेर तिरेका करबाटै उनीहरू तलबभत्ता खान्छन् । जनताप्रति बफादारी देखाउनुपर्नेमा बिचौलिया, माफिया, दलाल, अपराधीको संरक्षक बन्न खोजे,’ उनले भने, ‘जनप्रतिनिधिहरूले आफैं गर्नुपर्ने काममा हामीले माग गरिरहेका छौं ।’
पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले डा. केसीले उठाएका माग पूरा भएर कार्यान्वयनमा गइसकेको उल्लेख गर्दै कोभिड महामारीका बेला पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन आग्रह गरेका थिए । चिकित्सा शिक्षासम्बन्धी ऐन आईवरी उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उनले जानकारी दिए ।
चिकित्सा शिक्षाका लागि गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा आइसकेको उनको भनाइ दियो । मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खोल्न राखेको मागअनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताए । ‘अन्य विषयमा पनि सरकारले साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको छ,’ उनले भने, ‘पीसीआर परीक्षण परीक्षणको दायरालाई बढाएर हालसम्म १० लाखभन्दा बढीको परीक्षण भइसकेको छ । ’ याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।






