कोभिड–१९ को जोखिम घटेपछि पुख्र्यौली थातथलो गएकाहरु फर्कने सम्भावना रहेको बताउँछन्, मानवशास्त्री डा. डम्बर चेम्जोङ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चेम्जोङले रातोपाटसँग भने– ‘काठमाडौँ उपत्यकामा अनौपचारिक आर्थिक अवसर घटेको छ, कोभिड सकिने बित्तिकै त्यो अवसर सुरु हुन्छ अनि गाउँ गएकाहरु फर्कन्छन् ।’
उपत्यकामा औपचारिक आर्थिक अवसर चाहिँ घटेको छैन । स्कुल, कलेज बन्द भएकाले ठूलो सङ्ख्यामा विद्यार्थीहरुले उपत्यका छाडेका छन् । निजी स्कुल र कलेजका शिक्षक–शिक्षिकाहरुले पनि काठमाडौँ छाडेका छन् । विद्यालय खुलेपछि उनीहरु फर्कने सम्भावना रहेको बताउँछन् डा. चेम्जोङ ।
लकडाउनपछि चोभार, नागढुङ्गा, बालाजु र साँगाबाट कुल ७ लाख ८४ हजार ३ सय ८७ जना बाहिरिए । सो अवधिमा ७ लाख ३९ हजार ७ सय ५४ जना उपत्यका भित्रिएको तथ्याङ्कबाट देखिन्छ । महानगरीय प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्क यकिन भने छैन । किनभने यात्रु आवागमनको व्यवस्थित रेकर्ड राख्ने सिस्टम नेपालमा विकास भइसकेको छैन । प्रहरीको इन–आउट रेकर्डको आधारमा तयार पारिएको तथ्याङ्का अनुसार लकडाउनपछि सरदर १ लाख ४४ हजार ६ सय ३३ जनाले काठमाडौँ छाडेका छन् ।
काठमाडौँ विदेश जाने र आउने मूलगेट पनि हो । वैदेशिक रोजागारीको प्रक्रिया पूरा नहुन्जेल ठूलो श्रमशक्ति अस्थायी रूपमा अनौपचारिक आर्थिक क्षेत्रमा क्रियाशील हुन्थे । वैदेशिक रोजागारी अहिले ठप्प छ ।
घरायसी काम गर्ने श्रमिकहरुको रोजगारी गुमेको छ । आफ्ना लाला–बाला पढाउन र दुई छाक खानका लागि हुने–खानेको घरमा सफाइको काम गर्नेहरुले पनि रोजगारी गुमाएका छन् ।
कोरोनाको जोखिमले गर्दा ती श्रमिकलाई घरधनीहरुले काममा नबोलाएको बताउँछन्, समाजशास्त्री काशीनाथ प्याकुरेल । ‘लकडाउनले गर्दा त्यो वर्गलाई मर्का परेको छ । उनीहरु उपत्यका छाड्न बाध्य भएका छन्,’ रातोपाटीसँग कुरा गर्दै प्याकुरेलले भने– ‘पेट काटेर बच्चा पढाउनकै लागि काठमाडौँ बसेका थिए, उनीहरुमध्ये जो गाउँ गए, अब फर्केर आउँछन् जस्तो लाग्दैन ।’
कोरोना महामारीमा उनीहरुलाई राहतमा पनि विभेद गरियो । उपत्यकाका वडाध्यक्षहरुले भोटर रोज्दा डेरामा बस्नेहरुले राहतको रङ्ग कस्तो थियो भनेर पनि थाहा पाउन सकेनन् । त्यसपछि उपत्यका छाड्नुको विकल्प थिएन ।
काठमाडौँको प्राइम लोकेसनमा सामान्य सुविधा भएको कोठा पाउन दुर्लभ मानिन्थ्यो । तर कोरोना सङ्क्रमण सुरु भएपछि सो समस्या हटेको छ । उपत्यका छाड्ने बढेपछि प्राइम लोकेसनमा धमधम कोठा खाली भइरहेका छन् ।
‘टु–लेट’ लेखेका बोर्ड टाँसिएका घर बाक्लै देखिन्छन् । पहिले खाली भएको एक घण्टामा भाडामा लाग्ने कोठाहरु अहिले महिनौँ दिनदेखि खाली छन् ।
Source – Ratopati