स्वास्थ्य मन्त्रालयले भन्यो : ‘२५ हजार सक्रिय संक्रमित भए लकडाउन’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भएको खण्डमा लकडाउन गर्नुपर्ने बताएकोे छ । हाल देशमा १७ हजार ४१४ जना सत्रिय संक्रमित रहेका छन् । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भएको अवस्थामा अस्पतालबाट सेवा दिन सक्ने पूर्वाधार नभएकोे कारण बन्दाबन्दी गर्नुपर्ने स्थिती आउने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसायहरु अझै एक महिना बन्द गर्न पनि सिफारिस गरिएको समेत जानकारी दिए । यस विषयले पनि नेपालमा संक्रमण बढ्दै गएको खण्डमा फेरी लकडाउन हुने सम्भावना देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङ्गमा सो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज राजधानीका तीन जिल्लामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार काठमाडौँ जिल्लामा ४९२ , ललितपुरमा ५० तथा भक्तपुरमा ९५ जनामा कोरोना देखिएको हो । त्यसैगरी आज देशभर ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १८९३ जना निको भई घर फिर्ता भएका छन् । त्यसैगरी यो अवधिमा ७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । यो सँगै देशमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ भने ४९ हजार ९५४ जना निको भई घर गएका छन् । त्यसैगरी निधन हुनेहरुको संख्या ४३६ पुगेको छ । अहिले देशमा ७१०४ जना क्वारेन्टीनमा रहेका छन् भने १७४१४ जना आइसोलेसनमा रहेका छन् ।