लन्डनमा पर्यटन प्रवर्धनका लागि पदयात्रा

Pad Yatraकाठमाडौं, २२ असोज।  विनाशकारी भूकम्पपछि सुस्त नेपालको पर्यटन उकास्न लन्डनका युवाले हाइक फर नेपाल अभियान सम्पन्न गरेका छन् । लन्डन रिचमण्ड पार्कमा आयोजित उक्त अभियानको मुख्य उद्देश्य नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश दिनु थियो । सहभागीहरू हाइक फर नेपालको लोगो अंकित आकासे निलो रंगको जर्सी लगाएर रिचमण्ड पार्कको मुख्यद्धारबाट प्रवेश गरी पेन पोण्डसम्म करिब दुई घण्टा पैदल यात्रा गरे । उक्त अभियान बेलायत निवासी सुमन शर्माको संयोजकत्वमा भएको हो । खराब मौसम वावजुद उक्त अभियानमा विभिन्न उमेर समूहका ४० भन्दा बढि नेपाली सहभागी थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि व्यवसायी गैर आवासीय नेपाली सघं बेलायतका पूर्व अध्यक्ष कुल आचार्यले पर्यटन व्यवसाय नेपाल
को अर्थतन्त्रको मेरुदण्ड भएकाले अभियानले पर्यटन प्रवर्धनमा संसारभर सकारात्मक सन्देश फिंजाउने अपेक्षा व्यक्त गरे । आचार्यले आसन्न गैर आवासीय नेपालीहरूको काठमाण्डौंमा हुन गइरहेको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुने संसारभरका नेपालीलाई आफ्नो अर्को छुट्टी नेपालमै मनाउन र आफू रहेको देशका नागरिकहरुलाई समेत नेपाल घुम्न प्रेरित गर्न आग्रह गरे । हाइक फर नेपाल अभियानका अध्यक्ष गणेश शर्माका अनुसार लन्डनको यो कार्यक्रम नेपाल बाहिर सञ्चालित पहिलो हो । यस अभियान निकट भविष्यमा मलेसिया, स्वीडेन, नर्वे, अमेरिका लगायत अन्य विभिन्न देशमा समेत सञ्चालन हुन गइरहेको शर्माले जनाए । उनले अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने यस्ता कार्यक्रमले भूकम्प पछिको अवस्थामा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । हाइक फर नेपाल अभियान काठमाडौं उपत्यका आसपासको क्षेत्रमा हरेक शनिवार पैदल यात्राका कार्यक्रम सञ्चालन हुंदै आएको छ ।