काठमाडौँ – कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्बिने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिहरूको संयुक्त बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।
मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि हुन्छन् ।
यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भनदै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।
काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा १५ गतेसम्म लम्ब्याएर परीक्षणको दायर बढाउन सुझाव दिएको थियो ।
संक्रमण फैलिन नदिन भन्दै मुलुकभरका कयौं जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौंमा पनि पहिलो चरणमा भदौ ३ देखि १० गतेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो ।






