भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले भदौ १६ गतेबाट अन्तराष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ । पिसिआर परीक्षण सहज भएका मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ ।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

प्रवक्ता खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको जानकारी गराए ।

पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो। खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाए।
र, काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।