तक्दीर अधिकारी, सिड्नी ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको उमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले कोभिड १९ महामारीबाट प्रभावित भएका महिला विद्यार्थीहरुको लागी राहत उपलब्ध गराएको छ ।अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारको बहुसांस्कृतिक विभाग अन्तर्गत कोभिड १९ संकट सहयोग कार्यक्रम अन्तर्गत प्राप्त ५ हजार ५ सय डलर अनुदान ११० जना महिला विद्यार्थीहरुलाइ राहत वितरण गर्न लागिएको हो । 
हालसम्म ६६ जना महिला विद्यार्थीले राहत पाएका छन् भने बाँकी ४४ जनालाइ यही सेप्टेम्बर भित्र वितरण गरिने नारी निकुञ्ज न्यु साउथ वेल्स राज्य परिषदकी संयोजक मोनि लिम्बुले बताइन् ।
“हामीले न्यु साउथ वेल्स राज्य सरकारलाइ निवेदन पेश गरेका थियौँ, सोही अनुसार प्राप्त अनुदानले राहत दिएका हौँ”, उनले भनिन् “अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीको रुपमा आएका नेपाली महिला विद्यार्थीहरुलाइ ५० डलरका दरले भौचर प्रदान गरिएको छ, विशेष गरी यहाँ आएको एक बर्ष भित्रका र रोजगारी गुमाएका विद्यार्थीहरुले यो सुविधा पाएका छन्” । आफुहरुले सरकार सँग १० हजार माग गरेका र ५ हजार ५ सय मात्र प्राप्त गरेको बताइन् । 
यस अघि गैरआवासीय नेपाली संघ एनआरएनएले विद्यार्थीहरुलाइ राहत वितरण गर्ने क्रममा संकलन गरिएको विद्यार्थीहरुको सूची मध्येका ११० जनालाई उक्त सहयोग गरिएको हो ।
गैरआवासीय नेपाली संघ ओसियाना महिला संयोजक जानकी रिमाल पौडेलले एनआरएनए सँगै यसै अन्तर्गतको महिला फोरम नारी निकुञ्जले विश्वभर नै सञ्जाल विस्तार गरी सहयोगात्मक तथा समन्वयात्मक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताइन् । हाल महामारीको कारण महिलाहरु बढी समस्यामा परेको भन्दै महिला विद्यार्थीको लागि नगद राहत वितरणमा एनआरएनए, नारी निकुञ्ज मिली कार्य गर्न सफल भएको भन्दै खुशी व्यक्त गरिन् ।
नारी निकुञ्जले स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाहरुको आर्थिक सामाजिक पुनरोत्थानको निम्ती लामो समय देखी काम गर्दै आएको छ । विभिन्न संघसंस्थाहरु संग यस संस्थाले गरेको सहकार्य र उक्त सहकार्यले महिलाको जीवनस्तर उकास्न गरेको मद्धत प्रशंसापुर्ण रहेको महिला अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।







