तक्दीर अधिकारी
सिड्नी । जुलाई १४ तारिखमा १ सय ४९ जना सिंगापुर एयरलाइन्सको सेमिचार्टर उडानमार्फत् नेपाल फर्किएका छन् । उनीहरु लकडाउनले गर्दा अस्ट्रेलियाबाट नेपाल फर्कन नपाएकाहरु हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली राजदूतावासको समन्वयमा उनीहरु नेपाल फर्किन सम्भव भएको हो । सिंगापुर एयरको उडानबाट उनीहरु गत हिजो मंगलबार नेपाल फर्किएका हुन् । उनीहरुलाई सिड्नी विमानस्थलमा एनआरएनए अस्ट्रेलियाका पदाधिकारी तथा स्वयसेवकहरुले नेपाली यात्रुलाई उडनका लागि सहजीकरण गरेका थिए ।
अस्ट्रेलियाबाट दुईवटा उडानको अनुमति मागिएको थियो, तर एउटा उडानको मात्र स्वीकृति किन दिइयो भन्ने जिज्ञासामा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले भने, आज बुधबार नेपाल सरकारको सम्बन्धित निकायमा यसबारे छलफल हुन्छ, उक्त छलफलपछि दोस्रो उडानका लागि स्वीकृति प्राप्त हुनेछ भन्ने कुरामा हामी आशवादी छौं ।’
एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले भने, १ सय ४९ जना जुलाई १४ को फ्लाइटमा उडे, पैसा तिरिसकेका झन्डै ३ सय जनाभन्दा बढी नेपाल फर्किने तयारीमा छन् । नेपाल जानका लागि ७ सय जनाले निवेदन दिएका थिए, उडान निश्चित नभएकाले साढे ४ सयभन्दा बढीलाई पैसा नहाल्न हामीले नै अनुरोध गरेका हौं ।’ उनले भने, ‘जुलाई २१ तारिखका लागि अर्को उडानका लागि नेपाल सरकारसँग अनुमति मागिरहेका छौं, अहिलेसम्म कुनै जवाफ आएको छैन, अब दुईवटा उडानका लागि हामीले तयारी गरेका छौं । हामीसँग पैसा, यात्रु लगायत सबै कुरा तयारी अवस्थामा छ ।’
‘दुईवटा उडानको अनुमति मागेका थियौं, एउटाको प्राप्त भयो, अर्कोको प्राप्त हुने कुरामा हामी आशावादी छौं , कोषाध्यक्ष पोखरेलले भने, ‘नेपालमा अरुतिरको पनि उडान भएको दोस्रो उडानका लागि पर्खिनुपरेको हुन सक्छ । उडानका लागि विमानको समस्या छैन, नेपाल सरकारको अनुमित आएपछि उडान तुरुन्तै हुन्छ । जसले अनुमति ल्याउँछ, हामी उसैलाई दिन्छौं, मान्छेहरु एकदमै आत्तिएका छन् ।’
पहिलो उडानमा ३० जना जानैपर्ने अवस्थाका थिए भने बाँकी १ सय २० जना पहिलो प्राथमिकताका क्रमका यात्रु भएको कोषाध्यक्ष पोखरेलले जानकारी दिए ।
‘अर्को जहाज चार्टर गरेर नेपाल पठाउन सकिन्छ, तर सरकारको निर्णय पर्खेर बसेका छौं’, एनआरएनए युवा संयोजक इर्साद अहमदले भने, ‘२१ तारिखका लागि दोस्रो उडान हुने भनेर नेपाल सरकारसँग अनुमति मागिएको हो, उनीहरुले पनि धेरै कुरा हेर्नुपर्ने हुन्छ, त्यसैले हामीले सरकारको निर्णय पर्खेर बसेका छौं ।’
नेपाल वायुसेवा निगमको विमान चार्टर गर्न चाहिँ १७ सय ५० डलरले पुग्दैन, अझ ५ सय डलर थप गरियो भने मात्र नेपाल वायु सेवा निगमको विमान चार्टर गर्न सकिन्छ । सेमिचार्टर गर्नका लागि भने यो पैसाले पुग्नेछ र अर्को पनि सेमिचार्टर नै हो ।
एनआरएनले धेरै ट्राभल एजेन्सीलाई टिकट बिक्री गर्न दिएर यो अप्ठ्यारो आएको त होइन भन्ने जिज्ञासामा इर्सादले भने, होइन, पैसा चाहिँ एनआरएनले नै संकलन गर्छ, तर प्रतिस्पर्धामा छनोट भएका एजेन्टलाई न्यनतम कमिसन एनआरएनले नै वितरण गर्ने हो ।
‘उडानका लागि विमान तयारी अवस्थामा छ, सरकारको स्वीकृति पर्खेर मात्र बसेका छौं । नेपाल सरकारले एक साताको अन्तरमा उडान तालिका सार्वजनिक गरिरहेको छ, अस्ट्रेलियाबाट मात्र होइन, विश्वका विभिन्न ठाउँबाट उडान गर्नुपर्ने र आएकालाई होल्डिङ सेन्टरमा व्यवस्थापन गर्नुपर्ने भएकाले नेपाल सरकारले एक साताको उडान तालिका तय गरेको हुनसक्छ’ युवा संयोजक इर्सादले भने, ‘सबै एकैपटक जाने हो भने व्यवस्थापनमा कठिनाइ हुन्छ । त्यसैले लिमिटेड मान्छे मात्र काठमाडौंमा अवतरण गरिरहेका छन् ।’
१४ तारिखको उडानका लागि पनि १२ तारिख मात्र अनुमति प्राप्त भएको थियो । पहिला गएका मानिसहरुको स्वास्थ्य अवस्थालगायत विविध कुरा जाँच गरिसकेपछि मात्र अर्को उडानको अनुमति आउन सक्छ ।’






