लण्डन ।तमु धि लण्डन ईकाईको आइतबार लन्डन सडबरीस्थित हिमालयन क्लबमा बसेको बैठकले संस्थालाइ नयाँ भिजनका साथ अगाडी लैजाने निर्णय गरेको छ ।
‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या र लामो समयको लकडाउन पछि बसेको बैठकले संस्था भित्र र बाहिरका गतिविधिहरु र भावी कार्यक्रमहरु समेत तर्जुमा गरेको छ ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संस्थाका बरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको निधन प्रति दुख ब्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो । भने शोक प्रस्ताव समेत पास गरिएको थियो ।संस्थाका कोषाध्यक्ष ललितमान गुरुङ्ले संस्थाको हालसम्मको आम्दानी खर्च विवरण सार्वजनिक गरेका थिए ।बैठकमा संस्था आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडी बढ्ने प्रतिवद्धता गरिएको छ ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सुख दुखमा साथ दिने गरी अझै अघि बढ्ने र आफुहरु जुटेर लण्डनको एउटा समृद्ध र प्रतिष्ठित संस्थाको रुपमा विकसित हुने गरी अघि बढ्ने संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङ्ले बताए । संस्थालाई परिमार्जित गरि अझै फराकिलो बनाउदै लैजाने समेत उनको भनाइ छ ।
बैठकमा बेलायत स्थित लकडाउनमै जन्मिएको स्याङ्जा सहयोग समाज युकेका नब निर्वाचित संरक्षक भएकोमा सस्थाका बरिष्ठ सल्लाहकार क्या. प्रेम गुरुङ, वरिष्ठ सल्लाहकार ट्रस्टिज दिपक गुरुङ, आमा समुह संयोजक वरिष्ठ सल्लाहकार हुम कुमारी गुरुङ र उपाध्यक्षमा संस्थाका महासचिव भरत गुरुङलाई बधाइ सहित सम्मान समेत गरिएको थियो ।
सल्लाहकार क्या.प्रेमबहादुर गुरुङले सस्थाको प्रगति बारे प्रसंशा गर्दै आगामी दिनहरुमा पनि यसरी नै सस्थाको हितमा काम गर्न सबैमा अनुरोध गर्दै आफ्नो अधिकार प्राप्तिको लागि बैठकमा मात्र सिमित नरही एक जुट भएर बढ्नेमा जोड दिए।

बैठकमा आमा समुहकी निबर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हुम कुमारी गुरुङले सस्थालाई दिएको योगदान प्रति उच्च कदर गर्दै पर्सनालिटी अवर्डले सम्मान समेत गरिएको थियो ।
बैठकमा तमु धि लण्डन ईकाई आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ लगायत आमा समुह ,संस्थालाई मार्ग दर्शन गर्ने कार्य समिति सदस्यहरू,सल्लाहकारहरु लगायतको सहभागिता थियो,भने सबैलाइ धन्यवाद दिदै संस्थाका अध्यक्ष गुरुङ्ले बैठकको समापन गरेका थिए ।
संस्थाका उपाध्यक्ष बिष्णु गुरुङको स्वागत मन्तब्य रहेको उक्त बैठकको सञ्चालन महासचिव भरत गुरुङले गरेका थिए । सामाजिक दुरी कायम गर्दै सरकारले तोकेका मापदण्डहरु पुरा गरी सुरक्षाका साथ बैठक सञ्चालन गरिएको र संस्था नयाँ आयामका साथ अगाडी जाने महासचिब गुरुङले बताएका छन् ।






