काठमाण्डौ ।
सोमबार देखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ।
मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ।
उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
छानबिन गर्न पत्रकार महासंघको माग
नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको मृत्युबारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आज महासंघले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युले महासंघ स्तब्ध भएको जनाएको हो ।
बानियाँको रहस्यमय ढंगले भएको निधन बारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि महासँगघले सरकारसँग माग गरेको छ । महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको मृत्युले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ । तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।
लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए ।






