लेवनान । मंगलवार राति लेबनानको बेरुतमा एक सय जना भन्दाबढीको ज्यान जाने गरी भएको बिस्फोटमा कुनैपनि नेपाली हताहत नभएको गैर आवासीय नेपाली संघ लेबनानले जनाएको छ ।
सो क्षेत्रमा भएको विस्फोटमा परि ४ हजार भन्दा बढी घाइते भएका छन् भने ३ लाख बढी मानिस घरवार विहिन भएका छन् ।
उक्त घटनामा एक नेपाली मात्र सामान्य घाइते भएको र ती महिला पनि उपचार पछि घर फिर्ता भएको बताइएकोे छ ।
बेरुतबाट २ सय ४० किलोमिटर टाढा रहेको छिमेकी साइप्रस सम्म पनि कम्पन महसुस भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन् ।
लेबनानमा २३ सय नेपालीहरु वैदेशिक रोजगारीका लागि पुगेपनि त्यहाँको आर्थिक मन्दीका कारण धेरै नेपाली घर फर्किसकेका छन् ।
पछिल्लो तथ्यांक अनुसार हाल लेबनानमा करिव आठ सय नेपाली मात्र रहेको बताइन्छ । शान्ती सेनाको रुपमा पनि नेपाली सेना त्यहा कार्यरत छन ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।
करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताए । उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाए ।
यस विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।






