लन्डन । बेलायतको साउथ इष्ट लन्डनमा ग्रीनवीच भलिबल परिवारको आयोजनामा यूकेव्यापी ‘दोस्रो ग्रीनवीच भलिबल परिवार कप’को उपाधि मोना यूके र अल्डरशट ए ले जितेका छन् ।
वुल्लिचको रोयल आर्टिलरी ब्यारेकको मैदानमा भएको उक्त प्रतियोगितामा मोना यूके र अल्डरशट ए वीच फाइनल खेल हुँदै गर्दा रात परेपछि आयोजक तथा खेलाडीहरुको समझदारीमा दुवै टिमलाई बराबरी घोषित गरिएको हो ।
बेलायतभरका १२ नेपाली भलिबल खेलाडीहरुका टीम सहभागि रहेको उक्त प्रतियोगिताका विजेतालाई नगद साढे १२ सय पाउन्ड, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ सय र ३ सय पाउन्ड नगदसहितको पुरस्कारको व्यवस्था गरिएको थियो ।

भव्य रुपमा सिँगारिएको प्रतियोगिता स्थलमा उल्लासको साथ आइतवार विहानैबाट रोचक प्रतिस्पर्धा भएको थियो । खेलको उद्घाटन अध्यक्ष रोबिन रोक्का, संरक्षकहरु विनोद ज्ञवाली, कमल राना, राज कट्वाल, सचिव कृष्ण खरेल,कर्मा शेर्पा लगायत व्यवस्थापन समिति र कार्यक्रमका प्रायोजक समेत रहेका चाल्टन नेपाली समाजका पूर्व अध्यक्ष एवं समाजसेवी रोमनाथ पाण्डेले संयुक्त रुपमा पानसमा बत्ती बाल्दै नेपाली राष्ट्रिय गान गाउँदै गरिएको थियो ।
याक यति रेष्टुरेन्ट क्रिष्टल प्यालेस, माउन्टेन भ्यू, रोयल बरो अफ ग्रिनवीच, जमघट परिवार, याक यती साउथ इनले स्पोन्सर गरेको यस कार्यक्रममा उपस्थित दर्शकहरुले कोभिड महामारीले दिएको पीडालाई भूल्ने गरी मनोरञ्जन लिएका थिए । गत बर्ष कोभिड महामारीको कारण स्थगन गरिएको उक्त प्रतियोगिता बेलायत सरकारले लकडाउन अन्त्य गरेसँगै आयोजना गरिएको थियो ।

सयौँ नेपालीहरु उपस्थित सो प्रतियोगितास्थल कोभिडले दिएको पीडा बिर्सने स्थलको रुपमा समेत लिइएको छ । कार्यक्रमको समापनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले खेल जगतमा नेपालीहरुको उत्साह अझै बढ्नुपर्नेमा जोड दिए ।
उनले बेलायतमा नेपालीहरुको खेलप्रतिको आकर्षण बढाउन एनआरएनएको तर्फबाट पनि पहल गर्ने बताए ।







