बेल्जियमका अर्जुनकुमार श्रेष्ठद्वारा एनआरएनए महासचिवमा उम्मेदवारी

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न उम्मेदवारी घोषणा गरेको जनाए ।

‘स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि,’ विज्ञप्ती जारी गर्दै उम्मेदवारी घोषणा गरेका श्रेष्ठले भनेका छन्, ‘एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टोबरमा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।’

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमासाथ सहयोग र सदीक्षा रहने उनको भनाइ छ ।

विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ । एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा १४–१७ अक्टोबरमा हुँदैछ ।

पर्वतको फलेवास निवासी श्रेष्ठ २००९ देखि निरन्तर एनआरएनएको केन्द्रीय नेतृत्वमा छन् । उनी आईसीसी सदस्य, यूरोप संयोजक र हाल आईसीसी सचिव छन् ।

नेपालमा फार्मेसी, हार्डवेयरलगायतका व्यवसाय गरेका उनले हाल बेल्जियममा तीनतारेसहितका होटल चलाएका छन् ।