लन्डन । लन्डनका एक नेपाली रेष्टुरेन्ट सञ्चालकले पत्रकारलाई सार्वजनिक कार्यक्रमको रिपोर्टिङमा जवर्जस्ती रोक लगाएका छन् । लन्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टका सञ्चालक मध्ये एक देव गुरुङले निमन्त्रणा पाएर नयां वर्षको कार्यक्रममा रिपोर्टिङ गर्न गएका पत्रकार नवीन पोखरेललाई प्रवेशमा रोक लगाउंदै दुव्र्यहार गरेका हुन् ।
नेपाल पत्रकार महासंघ, बेलायतका संस्थापक अध्यक्ष तथा कान्तिपुरका लागि बेलायत संवाददाता पोखरेललाई गुरुङले सुरक्षा गार्ड बोलाएर अपमान र दुव्र्यहार समेत गरेका थिए ।
पोखरेल प्रधान सम्पादक रहेको वीनेपालीडटकमले यसअघि उक्त रेष्टुरेन्टका एक जना सञ्चालकले मातेको सुरमा बिहे कै दिन बेहुलीलाई लेडिज ट्वाइलेटमा थुनेर जवर्जस्ती चुम्बन गर्न खोजेको भन्ने समाचार पीडितलाई उधृत गर्दै प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएसंगै व्यवसाय खस्केपछि रेष्टुरेन्ट व्यवस्थापन पत्रकार पोखरेलसहितको टिमप्रति आक्रामक रहेको धेरैको बुझाइ छ ।
आपसी समझदारीमा दुईपक्षबीचको पुरानो तिक्तता सुल्झिसकेको अवस्थामा गुरुङले पुरानो रिसइवीमा पत्रकारको निर्वाध रुपमा समाचार संकलन गर्न पाउने विश्वव्यापी अधिकार समेत बिर्सेर अपमान गरेकामा बेलायतका नेपाली पत्रकारले तीव्र रोष प्रकट गरेका छन् । तर, सञ्चालक गुरुङले पुरानो केस बांकी रहेकाले उक्त समूहमा आवद्ध सबैलाई प्रवेशमा रोक लगाइएको दावी गरेका छन् ।







