गैरआवासीय नेपाली संघ यूके द्वारा गण्डकी प्रदेशमा अक्सिजन मेशिन हस्तान्तरण

लण्डन – गैर आवासीय नेपाली संघ बेलायतको तर्फबाट नेपालको ७ वटै प्रदेशमा अक्सिजन मेसिन उपलब्ध गराउने निर्णय अनुरुप नेपालको गण्डकी प्रदेशमा अक्सिजन मेसिन हस्तान्तरण गरिएको छ ।

आईतवार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई २ वटा अक्सिजन मेसिन (कन्सन्ट्रेटर) हस्तान्तरण गरिएको हो । एनआरएनए यूकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डम्मर घलेले एनआरएनए यूकेको तर्फबाट गण्डकी प्रदेश सरकारलाई उपरोक्त मेसिनहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा एनआरएनए यूकेका सल्लाहकार नरजंग गुरुङ, सदस्य चन्द्र गुरुङ, लोक गुरुङ, भोज गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

अक्सिजन मेसिन ग्रहण पश्चात मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड १९ को कठिन समयमा एनआरएनए यूकेको सहयोग प्रति प्रदेश सरकारको तर्फबाट आभार व्यक्त गर्दै वर्तमान परिस्थितीमा उपलब्ध गराईएका मेसिनहरु उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

एनआरएनए यूकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डम्मर घलेले गैरआवासीय नेपाली संघले नेपालको विपदमा सधै सहयोग गरेको स्मरण गर्दै अक्सिजन मेसिनको उपयोगिता बारे बताएका थिए ।

एनआरएनए युकेको कार्यसमिती बैठकले निर्णय गरे बमोजिम कोभिड १९ विरुद्ध लड्न नेपालको सात वटै प्रदेशका लागि २–२ थान गरी १४ थान अक्सिजन मेसिन (कन्सन्ट्रेटर) प्रदान गर्ने महासचिब फडिन्द्र भट्टराइले बताए ।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले अब अन्य ६ वटा प्रदेशमा पनि यथाशक्य छिटो अक्सिजन मेसिन हस्तान्तरणको संयोजन गर्ने कार्य भईरहेको जानकारी दिइन् ।