भारतीय महिलाले धारिलो हतियार प्रहार गर्दा सशस्त्र प्रहरीका हवल्दार घाइते

रौतहट, १० श्रावण । भारतीय महिलाले धारिलो हतियार प्रहार गर्दा रौतहटमा सशस्त्र प्रहरीका एक हवल्दार घाइते भएका छन् ।

शुक्रबार साँझ भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना महिलालाई सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि ती।महिलाले सशस्त्र प्रहरी माथी आक्रमण गरेको थियो ।

उक्त महिलाले आफुसँग रहेको हँसियाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेकी थिइन् । उनको आक्रमणमा परेर सशस्त्र प्रहरीका हवल्दार लिला बहादुर थापा घाइते भएका छन् ।

उनको दाहिने हातको कुहिना काटिएको छ । उनी बौद्धिमाइ नगरपालिकाको स्वास्थ्य केन्द्रमा उपचार पश्चात ड्युटीमा फर्किसकेका छन् । उनलाई आक्रमण गर्ने महिला भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ०६ खर्सलवा बस्ने सीमा देवी कुशहवा रहेको प्रहरीले जनाएको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ०७ नरकटिया गुठ्ठी टोल स्थित रहेको दशगजामा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. सरमुजवाबाट खटिई गएको १५ जनाको टोलीले कोरोना भाईरसको महामारी छ नेपाल प्रवेश नगर्नु भनि सम्झाई बुझाई गर्दा उनीहरुले नेपालको प्रशासनले ज्यादती गर्यो, यो जग्गा हाम्रो हो, हामीले जान पाउनु पर्छ भन्दै हो–हल्ला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले दिए । त्यसपछि करिब २ सय बढी भारतीयहरु सो स्थानमा आएर डिउटीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गर्दै उनीहरुसँग भएका हातहतियार खोस्ने प्रयास गरेको उनले बताए ।

नेपाल प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण भएको थाहा पाउने बित्तिकै ४ सय बढी स्थानीय नेपालीहरु त्यसको प्रतिकारमा सो स्थानमा भेला भएपछि स्थिती तनावपूर्ण बनेको थियो । आफु माथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले आत्मरक्षा गर्न र भिडलाई तितरबितर पार्न एक राउण्ड हवाई फायर गरेको थियो ।

ठुलो संख्यामा दुबै देशका नागरिक भेला भएपछि स्थिती तनावपूर्ण भएकाले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हेडक्वाटर रौतहटबाट सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजीतको कमाण्डमा ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरिक्षक राकेश यादवको कमाण्डमा ३५ जनाको टोली थप मद्धतको लागि पुगेपछि स्थिति सामान्य बनेको थियो ।

हाल सो स्थानको जनजीवन सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिए ।