तक्दीर अधिकारी
सिड्नी । समस्यामा परेर अस्ट्रेलियाबाट नेपाल फर्किन नपाएकाहरु लाई जुलाई १४ मा नेपाल फर्किने एउटा अवसर जुर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अगुवाइ र नेपाली दूतावास क्यान्बेराको पहलमा अस्ट्रेलियामा रहेर नेपाल फर्किन जरुरी भएकाहरुलाई जुलाई १४ मा सेमी चार्टर उडानमार्फत् नेपाल फर्काउने तयारी भइरहेको अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले जानकारी दिए ।
सेमिचार्टर अर्थात् अस्ट्रेलियाबाट सिंगापुरसम्म नियमित उडान र त्यसपछि विमान चार्टर गरेर यात्रुलाई काठमाडौंसम्म ल्याइने छ । नेपालीका लागि यो उडान सिंगापुर एयरलाइन्सले गर्ने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिए ।
यस उडानमार्फत नेपाल जान चाहने यात्रुले अष्ट्रेलियाबाट काठमाडौंसम्मको भाडा ११ सय ५१ अमेरिकी डलर अर्थात १७ सय ५० अष्ट्रेलियन डलर बुझाउनुपर्ने छ । कोरोना संक्रमणले अष्ट्रेलियाली सरकारको मापदण्ड बमोजिम अहिले मेलबर्न, ब्रिसबेन र सिड्नीबाट मात्र सिंगापुर उडान भर्न सकिने भएले यी तीनै शहरलाई केन्द्र बनाएर यस्तो ब्यवस्था गरिएको अध्यक्ष कँडेलले बताए ।
राजदूत दाहालका अनुसार एनआरएनएले अहिले जसरी पहल गरेको छ, त्यसरी नै दूतावासले यसअघि पनि पहल गरेको थियो । राजदूतावासले गरेको पहल नेपाली समाजमा बुज्ने गरी पु¥याउन सकिएन, त्यही भएर बीचमा टिकाटिप्पणी भए । अहिले नेपाली समाजकै लिडरहरुलाई सहभागी गराएर दूतावासले साथ दिइरहेको छ । उहाँहरुकै बढी सक्रियतामा यो काम भइरहेको छ । यसका लागि मापदण्ड बनाउनेलगायत नियोगले गर्नुपर्ने सम्पूर्ण काम गर्दिन्छ, त्यसबाहेक सम्पूर्ण काम एम्डा, एनआरएनएलगायत नेपाली समाजका अगुवालाई प्रतिनिधि बनाएर काम अघि बढाइएको हो । उहाँहरुकै रोहबरमा जुलाइ १४ को फ्लाइट हुँदैछ । उक्त उडानको स्वीकृत आउने कुरामा हामी ढुक्क छौं ।’
एनआरएनए अध्यक्ष केशव कँडेलले भने, ‘विमान भाडा हामीले १८ सय अमेरिकन डलरबाट ११ सय ५० मा ल्यायौं, त्यो भनेको १७ सय ५० अस्ट्रेलियन डलर हो । पहिलेको तुलनामा यो सस्तो हो । खुला प्रतिस्पर्धामा आह्वान गरेका थियौं, इच्छुकहरु आउनुभयो, उहाँहरुले पाउने सुविधा प्रतिस्पर्धामा सहभागी सबै ट्राभल एजेन्टलाई दामासाही वितरण गरिनेछ ।
यात्रुबाट भाडा लिइसक्नु भयो, सरकारले अनुमति दिएको छैन नि भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा अध्यक्ष कँडेलले भने, ‘एनआरएनएले स्वीकृत माग्दा नदिने, ट्राभल एजेन्टले माग्दा दिने भन्ने हुँदैन होला, तर अहिले नेपाल फर्किनुपर्ने जरुरी भएकाहरु छन्, त्यसैले अनुमति पाइन्छ भन्ने कुरामा हामी ढुक्क छौं ।’
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले सबै ट्राभल एजेन्सीसँग खुला प्रतिस्पर्धाबाट आह्वान गरिएको थियो । ५–६ वटा एजेन्सीको आएका छन् । व्यक्तिबाट पैसा उठाउन झन्झट होला भनेर एनआरएनएको खातामा पैसा जम्मा गरिएको छ । जसले गर्दा कोही नजाने भए भने उक्त पैसा फिर्ता गर्न सजिलो हुन्छ । यो जुलाई १४ मा उडान हुन्छ, उक्त उडानबाट बाँकी रहे अर्को उडानबाट नेपाल फर्काइने छ ।
एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङले भने, ‘अहिलेसम्म अस्ट्रेलियाबाट दुईवटा उडान भयो, त्यसमा सबैजना नेपाल फर्किन पाएनन्, त्यसैले एनआरएनएको अगुवाइमा यो जुलाई १४ को उडान तयारी गरिएको हो, यसमा पनि पहिले जो आउँछ उसले नै सेवा पाउनेछ । केही आरक्षण कोटा पनि छ, त्यसमा मापदण्ड पुगेका व्यक्ति मात्र उड्न पाउँछन् । यो अवस्थामा उडान अनुमति नदिए सरकारको खुलेरै विरोध गर्दा पनि केही हुँदैन । जहाँसम्म मलाई लाग्छ सरकारले उडानको अनुमति दिनेछ ।’
डिलाइट ट्राभल्स एन्ड टुरका निर्देशक आशिशजंग थापाले भने, ‘एनआरएनएले यतिबेला सबैलाई समान व्यवहार गरेको देखियो । सबै ट्राभल एजेन्टमार्फत् कोटेशन आह्वान गरेको थियो । त्यसमा मेरो संस्था संलग्न छैन, यद्यपि एनआरएनएले निष्पक्ष ढंगले कोटेशन आह्वान गरेको छ । यस्तो बेलामा नाफा कमाउनेभन्दा पनि सेवा गर्ने अवसर हो, ४–५ जनाले यो सेवा गर्ने अवसर पाउनु भएको छ, यो एकदमै राम्रो कुरा हो । एनआरएनएले कसैलाई काखी च्याप्ने काम गरेन, स्वच्छ प्रतिस्पर्धाका आधारमा सबै ट्राभल्स एजेन्सीहरुलाई अवसर दिएको थियो ।’






