काठमाडौं । नेपाली काँग्रेसका उपसभाति विमलेन्द्र निधिले चीनले मिचेको नेपाली भूमिको सुरक्षा गर्न आग्रह गरेको केही दिनपछि नै सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गर्दै विज्ञाप्ति जारी गरेको छ । भारत–चीनबीच लद्दाख गतिरोधसँगै नेपालको भूमिमा कब्जा गर्ने निर्णय लिँदा त्यसको रणनीतिक असर कस्तो पर्छ भनी भारतले मूल्यांकन गरिरहेको केही दिनअघि प्रकाशित भारतीय पत्रिका दी इकोनोमिक टाइम्सले लेखेको थियो । नेपाल विश्लेषकहरूका अनुसार, चीनले तिब्बती गतिविधि हुन नदिन तिब्बत र नेपालका बीचमा मध्यवर्ती क्षेत्र (बफर जोन) बनाउन खोजेको छ ।
चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो । भारतीय केही मिडियाले पनि चीनले नेपालका विभिन्न १० ठाउँको जमिन मिचेको दावी गर्दै समाचार प्रकाशित गरेका थिए । सन् १९६० को दशकमा भएका सर्वेक्षण तथा चीनसँगको सीमा निर्धारण गर्न पिल्लर खडा गरिएपछि नेपालले आफ्नो सीमाको रक्षाका लागि कुनै कदम चालेको छैन । चीनसँगको सीमामा १०० वटा स्तम्भ राखिएका छन् । भारतसँगको सीमामा चाहिँ ८ हजार ५ सय ५३ वटा पिल्लर छन् । चीनसँगजस्तै भारतसँग सीमा जोडिएका ठाउँमा पनि कुनै नेपालले सीमा संरक्षणको काम गरेको छैन ।
भारतले लिम्पियाधुरासहितको भूभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका बेला चीनले पनि सीमा अतिक्रमण गरेको भन्दै समाचार सार्वजनिक भएको थियो । तर परराष्ट्र मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको थियो ।






