काठमाडौ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री पद्मा अर्यालले बुधबार नक्सा सार्वजनिक गरेकी हुन्। गत सोमबार मन्त्री अर्यालले पेश गरेको नक्सा सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो।
नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।
गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो । यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको छ ।






