संविधानसभा उपनिर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नम्बर–१ मा आज मतदान भइरहेको छ । बिहान ७ बजेदेखि नै मतदाताहरुले विद्युतीय मेसिनमार्फत् मत दिइरहेका छन् । मतदान साँझ ५ बजेसम्म जारी रहने छ । बाग्लुङ क्षेत्रनम्बर १ मा ५२ हजार २ सय २ जना मतदाता छन् । ३५ मतदानस्थलमा ७० वटा मतदान केन्द्र तय गरिएको छ । विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिट्टै सार्बजनिक हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । दोस्रो संविधानसभा चुनावमा निर्वाचित कांग्रेस सभासद् हरिबहादुर खड्काको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेसले खड्काकी श्रीमती चम्पालाई उम्मेदवार बनाएको छ । यसैगरी नेकपा एमालेकी मनकुमारी केसी, एकीकृत नेकपा माओवादीका कृष्णबहादुर केसी तथा राप्रपा नेपाल र राप्रपाको संयुक्त उम्मेदवार नवीनचन्द्र शरबुजा लगायत चुनावी प्रतिस्पर्धामा छन् । १० वटा राजनीतिक दल र तीनजना स्वतन्त्र उम्मेदवार गरी १३ उम्मेदवार चुनावी मैदानमा छन् । तर, कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन कार्यक्रमका लागि कर्मचारी र स्वयम्सेवक गरी ७ सय ७० जना खटिएका छन् ।
बाग्लुङ उपनिर्वाचनमा मतदान जारी






