अस्ट्रेलियामा समस्यामा परेका विद्यार्थीलाई नेपाली जनसम्पर्क समिति एनएसडब्लुको राहत

तक्दीर अधिकारी
सिड्नी । कोभिड–१९ को संक्रमणले गर्दा अस्ट्रेलियाका विभिन्न सहर आशिंक लकडाउनमा छ । यसको प्रभावमा नेपाली विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् । विशेषगरी गरी ६ महिनादेखि १ बर्षभित्र आउने विद्यार्थी बढी मारमा परेको देखिएको छ ।

कोभिड–१९ प्रभावित विद्यार्थीका समस्यामा जति सकिन्छ सहयोग गर्ने उद्देश्यले अहिले नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया लागिपरेको छ । तत्काल सहयोगअन्र्तगत खाद्यान्न प्याकेज लिएर विद्यार्थी माँझ पुगेको जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लुका संयोजक शितल खाण गिरी बताउँछन् ।

उक्त राहत लिनका लागि विद्यार्थीले सामान्य अनलाइन फर्ममा आफ्नो नाम टिपाउनु पर्नेछ ,जुन नेपाली जनसम्पर्क समितिको फेसबुक पेजमा पोस्ट गरिएको छ । विशेषतः ६ महिनादेखि १ बर्षभित्र आएका विद्यार्थी छनोटको दायराभित्र पर्नेछन् ।

सम्भवतः विद्यार्थी भएकै स्थानमा गएर सहयोग बितरणसँगै प्रत्येक्ष रूपमा उनिहरुका अन्य समस्यासमेत बुझ्ने गरी तयारी गरिएको विद्यार्थी समन्वय संयोजक समित केसीले बताए । अधिकांश विद्यार्थी सम्पर्कमा आइसकेको र सँगै विद्यार्थीको भिषासम्बन्धी या कलेजसम्बन्धी विज्ञ टोलीमार्फत् निःशुल्क परामर्श एवम् स्वास्थ्यसम्बन्धी डाक्टरहरुसँग समेत निःशुुल्क परामर्श लिन सकिने ब्यवस्था गरिएको केसीले जानकारी दिए । जस्को लागि विद्यार्थीले अनलाइन फर्ममै आफ्ना समस्या टिपाउनु पर्नेछ ।

ईमानदारिताका साथ नदोहोरिने गरी वास्तविक समस्यामा रहेका विद्यार्थी मात्र सम्पर्कमा आएर करिब तीन सय हाराहारी बिद्यार्थीले सहायता पाउने अनुमान गरिन्छ ।

सहयोग लिनका लागि विद्यार्थीले आफ्नो परिचयपत्रसहित हाल बसोबास गरिरहेको ठेगानासमेत उल्लेख गरी फोन नम्बरसहित npccaustralia16@gmail.com मा सम्पर्क गर्नुपर्नेछ ।