हड्ताल छोट्याउने दाहालको आश्वासन

काठमाडौं- एमाओवादी अध्यक्ष तथा ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहालले आमहड्ताल छोट्याउने आश्वासन दिएका छन्। तीन दिने हड्तालको पहिलो दिन मंगलबार उद्योग वाणिज्य महासंघ नेतृत्वको टोलीले लाजिम्पाट स्थित निवासमा दाहाललाई भेट्दै बन्द फिर्ता लिन आग्रह गरेको थियो।

 महासंघ, नेपाल चेम्वर अफ कमर्स र स्वतन्त्र उर्जा उत्पादकको संस्थाका प्रतिनिधिले दाहाललाई भेटी बन्दले आर्थिक गतिविधिमा दीर्घकालिन असर पार्ने भन्दै फिर्ताको पहल गर्न आग्रह गरेको उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले बताए।

उनले अध्यक्ष दाहाल बन्द फिर्ता लिन सकारात्मक रहेको जानकारी दिए। दाहालले आज पाँच बजे बस्ने ३० दलीय मोर्चाको बैठकमा बन्द छोट्याउनेबारे छलफल गर्ने आश्वासन दिएको उनले बताए। ‘बन्द फिर्ता लिन अध्यक्ष दाहाल अत्यन्तै सकारात्मक हुनुहुन्छ’ उनले नागरिकन्युजसँग भने,’आशा गरौं उहाँहरुले बन्द फिर्ता गर्नुहुनेछ।’

अध्यक्ष दाहालले आन्दोलन आफूहरुको रहर नभएर बाध्यता भएको बताएका थिए। उनले दलहरुकाबीच सहमति र सहकार्यको वातावरण निर्माण गर्नु पर्नेमा जोड दिएका थिए। दाहालका स्वकीय सचिव चुडामणी खड्काका अनुसार सरकारले संविधानसभामा प्रक्रिया रोकेर सहमतिका साथ अघि बढ्नु पर्ने उल्लेख गरेका थिए।

उद्योगी व्यवसायीको टोलीले आजै प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सहमति र सहकार्यको वातावरण बनाएर बन्द फिर्ता गराउन पहल गर्न आग्रह गरेको छ। भेटमा कोइरालाले सहमतिको लागि आफू सकारात्मक भएको बताएको मुरारकाले जानकारी दिए।