काठमाडौं, २४ चैत । एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको आमहड्तालको प्रभाव जिल्लाजिल्लामा पनि परेको छ । वीपी र मध्यपहाडी राजमार्ग भएर लामो तथा छोटो दुरीका यातायातका साधनहरु संचालन हुन नसक्दा काभ्रेपलाञ्चोकका साथै सिन्धुलीमा समेत बन्दको प्रभाव परेको छ ।
यस्तै, ताप्लेजुङ, पांचथर, इलाम, झापा, धरान, बिराटनगर, चितवन, रुपन्देही, कपिलवस्तु, बांके, बर्दिया, कैलाली र डडेल्धुरामा पनि बन्दको असर परेको छ ।
कञ्चनपुरको भासीमा कृष्णपुर गाउँ विकास समितिको मोटरसाइकल जलाइएको छ भने अन्य सबारी साधन तोडफोड गरिएको छ । पर्यटकीय नगरी पोखरामा पनि बन्दका कारण बिहानैदेखि यातायातका साधन संचालन हुन सकेका छैनन् भने मुख्य बजार खुलेका छैनन ।
बन्दको अवज्ञा गरेको भन्दै पोखरामा ५ वटा बस र एक ट्रकमा तोडफोड गरिएको छ । होटलहरु बन्द हुँदा पर्यटकहरु मारमा परेका छन् । प्रहरीको सहयोगमा पोखराबाट पर्यटक बसहरु भने छुटेका छन् । प्रहरीले स्कर्टिङ गरी एकै पटक करिब ५० ओटा बस पोखराबाट अन्यत्र जाने व्यवस्था मिलाएको छ । पोखरामै बन्दको विरोधमा स्थानीयहरुले सडकमै खाना पकाएर खाएका छन् ।
पोखरा नजिकैको बाग्लुङमा भने बन्दको प्रभाव छैन । यही चैत २८ गते हुने उपनिर्वाचनको चहलपहल छ । तराईका बारा, पर्सा, रौतहट, धनुषालगायतका जिल्लामा पनि बन्दको प्रभाव परेको छ । जनकपुरका मुख्य चोकहरुमा बिहानैदेखि ३० दलीय मोर्चाका कार्यकर्ता लाठ्ठी सहित सडकमा उत्रेका छन् ।
उनीहरुले पिडारी, रामानन्द चोक, भानुचोकमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताले जनकपुरमा पनि दुई दर्जनभन्दा बढी सबारी साधनको सांचो खोसेका छन् । यता, रुपन्देहीको जनजिवन पनि कष्टकर बनेको छ । भैरहवाको मुख्य चोक बर्मेली टोलमा आन्दोलनकारीले एक मोटरसाइकलमा आगाजानी गरेका छन् । बन्दका कारण राजमार्गहरुमा सवारी साधन चलेका छैनन । भारतबाट आउने नेपाली सिमा नाका बेलहियामा अलपत्र परेका छन् ।
देशभर बन्दको प्रभाव






