बेलायतमा किरात राईहरुको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनमा १७ देशका प्रतिनिधि आउदै (भिडियो)

लन्डन । किरात राईहरुको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा हुने भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आउंदो २४ देखि २६ मे, २०२० सम्म तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको आयोजकले जनाएका छन् ।किरात राई यायोक्खा बेलायतले शनिबार लन्डनमा एक पत्रकार सम्मेलन गरि सम्मेलनबारे जानकारी दिएको हो ।

सम्मेलनमा भारत सिक्किम प्रान्तका भूतपूर्व मुख्यमन्त्री पवन चाम्लिङ प्रमुख अतिथी रहने जनाइएको छ । २४ मेका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्मेलन उद्घाटनपछि २५ र २६ मेका कार्यक्रम लन्डन हयारो बरो फुटबल क्लवमा हुने किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईले जनाइन् ।

विश्वभरका किरात राईहरुबीच भाइचारा सम्बन्ध अभिवृद्धि एवं एकताको सूत्रमा समेट्न, किरात राईको २८ भाषा प्रयोगमा रहेपनि केही भाषा लोप हुंदै गएकाले त्यसलाई जोगाउन, किरात राईहरुले मान्ने पूजाआजा र प्रमुख चाड जस्तै साकेला, साकेन्वा, तोषी, वास, भूमेपूजा, खोलापूजा, चुल्हापूजा आदिको संरक्षण एवं सम्वर्धन गर्न, किरात राईहरुको विशिष्ट मौलिक संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्न, किरात राईहरु जहां बसेपनि आफ्नो मुल थातथलोसंगको सम्बन्ध कायम राख्न तथा विभिन्न कालखण्डका ऐतिहासिक, धार्मिक, सामाजिक, पुरातात्विक महत्वका अवशेषहरुको खोजी, पहिचान, संरक्षण र संवर्धन गर्न सम्मेलन केन्द्रित हुने अध्यक्ष राईले जनाइन् ।

किरात राईहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०११ मा नेपाल र दोश्रो सन् २०१५ मा भारतको सिलिगुडीमा गरिएको थियो । बेलायतमा हुन लागेको तेश्रो सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया गरि १७ देशबाट करिब एकसय ‘डेलिगेट्स’ को सहभागिता रहनेछ ।

कार्यक्रममा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले सम्मेलन अघि २३ मेमा बेलायतमा आयोजना गर्न लागिएको किरात राईहरुको महान चाड ‘साकेला उभौली ५०८०’ बारे अवगत गराएका थिए । राईले विश्वभरबाट आएका अतिथीहरुको सहभागितामा साकेला उभौली विविध सांस्कृतिक कार्यक्रमसहित मनाइने जनाए । किरात राई यायोक्खा बेलायत आफैंले वकिङमा खरिद गरेको १४७ रोपनी जग्गामा साकेला उभौली गरिनेछ । आयोजकले सो कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकारहरुसमेत झिकाउने योजना बनाएका छन् ।

कार्यवहाक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयां खर्च हुने जनाउंदै आर्थिक श्रोत जुटाउन यही २२ फेब्रुअरीमा लन्डन हयारो बरो फुटबल क्लवमा रात्रीभोजसहित सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । बेलायतमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखाबाट आर्थिक सहयोग मागिने पनि राईले बताए ।

अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन जिम्मा लिएको किरात राई यायोक्खा बेलायतले कार्यक्रममा नैतिक, भौतिक तथा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेको छ ।

हेर्नुहोस: किरात राई यायोक्खा बेलायतले शनिबार लन्डनमा गरेको एक पत्रकार सम्मेलनको स्थलगत भिडियो रिपोर्ट शिव भण्डारी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *