स्कटिश नागरिक नेपाल पठाउन काशीरामले गरे यस्तो पहल,

लण्डन । नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि स्कटल्याण्डमा एक विशेष कार्यक्रम  गरिएको छ । लण्डनस्थित नेपाली दूतावासको सहकार्यमा व्यवसायी काशिराम भण्डारीको पहलमा आइतबार काउडेनविथको सिम्ला प्यालेसमा भएको कार्यक्रममा करिब ८० जना स्थानीय स्कटिससहित डेढ सय जना सहभागी भए ।

कार्यक्रममा काउडेनविथका काउन्सिलर डारेन वाटले स्कटल्याण्डमा नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि सघाउने आश्वासन दिए । उनले भ्रमण वर्षभित्रै आफु पनि नेपाल भ्रमणमा जान ईच्छुक रहेको सुनाएका थिए ।लण्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरनले भ्रमण वर्षबारे पावरपोइन्ट प्रिजेन्टेसनमार्फत जानकारी गराए ।

त्यसअवसरमा नेपालको भ्रमणमा गइसकेका तथा अब जाने योजनामा रहेका केहि स्कटिसहरुले समेत आफ्ना अनुभव र योजनाहरु सुनाएका थिए ।कार्यक्रममा सहभागी स्थानीय स्कटिसहरुलाई नेपाल भ्रमण वर्षको लोगो अकिंत टिसर्ट र कपहरु बाँडिएको थियो । नेपाली संस्कृति झल्काउने विभिन्न आकर्षक नृत्यहरु र नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक भिडियो कार्यक्रममा देखाइएको थियो ।

कार्यक्रमका आयोजक व्यवसायी भण्डारीले नेपाल र नेपालको पर्यटनको प्रवर्द्धनका लागि सहयोग गर्ने कोशिसस्वरुप कार्यक्रम गरिएको बताए । स्थानीय स्कटिस समुदायलाई नेपाल भ्रमणको बारेमा जानकारी गराउँदा उनीहरु निकै उत्साहित बनेको र कैयौंले यहि वर्ष नै नेपाल भ्रमणमा जाने योजना बनाइसकेको भण्डारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *