काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट हुँदै उनले राजीनामा दिएका हुन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।
द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन्। मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।
सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । यो रिट दायर गर्नेमा प्याकुरेल पनि छन्। उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो । आफैले रिट हालेका आरोपित पात्र सभामुख बन्न लागेपछि उनले पदमा बसिरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिएका हुन् ।






