सिड्नीमा ‘न्यू एयर इभ’ को स्वागतमा हजारौ को घुइचो (फोटो फिचर)

तक्दीर अधिकारी / अनु लामा

सिड्नी । सिड्नीमा ‘न्यू एयर इभ’ को स्वागतमा हजारौ को घुइचो लागेको छ ।नयाँ वर्षको स्वागतमा हजारौ जुटेका छन् ।

नयाँ वर्ष २०२० को अघिल्लो रात अर्थात् न्यूएयर इभको अवसरमा सिड्नीमा दुई चरणमा फायरवर्क हुँदैछ । पहिलो चरणको फायरवर्क परिवार र साथीभाइका लागि राति ९ बजे हुनेछ भने अर्को रातको १२ बजे हुनेछ । तयारी हेर्दा यस्तो लाग्छ दुवै फायरवर्क भव्य हुने हुनेछन् ।

सिटी अफ सिड्नी काउन्सिलले दिएको सूचनाअनुसार फायरवर्क सन् १९९५ देखि सुरु भएको हो । त्यसबेला रातको ९ बजेसम्म फायरवर्क हुन्थ्यो । सन् १९९९ देखि फायरवर्कलाई दुई चरणमा विभाजन गरियो । दोस्रो चरणको फायरवर्क १२ बजे पनि गर्न थालिएको हो । सुरुका दिनमा १० मिनेटसम्म फायरवर्क गरिन्थ्यो, सन् १९९९ देखि फायरवर्कलाई १५ मिनेटसम्म गर्न थालियो । अहिले यो समयसीमा बढाएर २० मिनेट पु-याइएको छ ।

यो फायरवर्कमा सर्वसाधारणको चासो त्यसै पनि हुने नै भयो । त्यससँगै सञ्चारमाध्यमले पनि त्यत्तिकै महत्व दिन्छन् । विश्वभरका प्रतिष्ठित सञ्चारमाध्यमहरुले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्छन् । यस वर्षको फायर वर्क लन्डन नेपाल न्यूज डटकमले पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।

समाचार संकलनका लागि रोयल बोर्टानिक गार्डेन पुगेको लन्डन नेपाल न्युज डट कमको टिमले वरपरका मानिसहरुसँग कुराकानी गरेको थियो । कुराकानीका क्रममा उनीहरुले फायरवर्क हेर्न आफूहरु उत्साहित भएको प्रतिक्रिया दिएका थिए । शहरको ट्राफिक व्यवस्थालाई चुस्त दुरुन्त राख्न सडकमा प्रहरीको बाक्लो उपस्थिति देखिन्थ्यो । रोयल बोटानिक गार्डेनका अनुसार झन्डै ५० हजारले उक्त गार्डेनबाट फायरवर्क हेर्नेछन् ।

फायरवर्कको आकर्षण वर्षेपिच्छे बढ्दो भएकाले भिन्टेज प्वाइन्ट अर्थात् फायरवर्क हेर्ने स्थल भरिएपछि त्यसलाई बन्द गरिन्छ । भिन्टेज प्वाइन्टमा प्रवेश गर्न नपाएकाहरुका लागि साइटमा हेर्ने व्यवस्था मिलाइएको छ । भिन्टेज प्वाइन्टमा प्रवेशका लागि मानिसहरु बिहान ७ बजेदेखि नै लाइनमा बसेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *