काठमाडौँ, १९ चैत । भारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सुदृढ बनाउन यसपटक आफूले पनि उम्मेदवारी दिने बताउँदै त्यसमा नेपालको साथ र समर्थनका लागि अनुरोध गरेको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्करले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग आज परराष्ट्र मन्त्रालय भएको शिष्टाचार भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
“सुरक्षा परिषद् सदस्यमा भारतले दिने उम्मेदवारी र त्यसमा नेपालको समर्थनको भारतीय अपेक्षा उहाँले व्यक्त गर्नुभयो,” विदेश सचिवसँगको भेटपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पाण्डेले भन्नुभयो–“सुरक्षा परिषद्मा सहयोग गर्नेसम्बन्धी नेपालको पुरानो प्रचलन र अभ्यासअनुरुप गर्नेबारेमा स्पष्ट गरेँ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको औपचारिक नेपाल भ्रमणका बेला नेपाल र भारतबीच भएका सहमति समयतालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा आफूले जोड दिएको मन्त्री पाण्डेले बताउनुभयो ।
पारस्परिक लाभका परियोजना समयसीमा तोकर तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने आफ्नो धारणाप्रति भारतीय विदेश सचिवले सहमति जनाएको जानकारी दिँदै उहाँले आफूहरू द्विपक्षीय हित र चासोको विषयमा पनि छलफल भएको बताउनुभयो ।
भेटमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी, सहसचिव रमेशप्रसाद खनाल, नेपालका लागि भारतीय राजदूत रञ्जित राय, नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीका साथै यहाँस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीको सहभागिता थियो । श्रव्य सामग्री संलग्न छ ।
सुरक्षा परिषद्मा सघाउन भारतको अनुरोध






