मस्को, १९ चैत । रसियाको सुदूर पूर्व इलाकामा बिहीबार एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ५४ नाविकको मृत्यु भएको रसियाली सञ्चार माध्यमले जनाएको छ । सो दुर्घटनामा परी ज्यान गुमाउने ५४ व्यक्तिको शव निकालिएको र ६३ चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने, अन्य १५ नाविक बेपत्ता रहेका रसियाली समाचार समिति तासले जानकारी दिएको छ ।
रसियाको कम्चात्का द्वीपको तटीय क्षेत्रमा स्थानीय समयाअनुसार बिहीबार ६ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । सामुद्रिक एक स्थानीय अधिकारीले तास समाचार समितिलाई सो डुङ्गामा ७८ जना रसियाली र कम्तीमा ४० म्यानमारका नागरिक रहेका जनाएका छन् ।
प्रारम्भिक समाचारअनुसार यस दुर्घटनामा घाइते भएका ४० व्यक्तिलाई हेलिकप्टरबाट अस्पताल लगिएको मगादान जिल्ला प्रेस कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । खोजी र उद्धारकार्यको ८०० व्यक्तिको सहभागिता भइरहेको पनि सो कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी उद्धार र खोजी कार्यका लागि २६ वटा माछा मार्ने प्रयोजनमा लगाइने डुङ्गाको पनि परिचालन भएको छ । गत डिसेम्बरमा रसियाको पूर्वी तटीय क्षेत्रमा दक्षिण कोरियाली एक माछा मार्ने डुङ्गा दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २६ जना बेपत्ता भएका थिए ।
डुङ्गा दुर्घटनामा ५४ को मृत्यु






