अष्ट्रेलियामा नेपाली युवाले देखाए राष्ट्रियता, चलाए भ्रमण बर्ष २०२० अभियान

सिड्नी । नेपाली समुदायबीचको एकतालाई मजबुत बनाउदै नेपाल भ्रमण बर्ष २०२० लाई भब्यताका साथ सफल पार्नका निम्ति अष्ट्रेलियामा रहेका नेपाली युवाहरू एकजुट भएका छन् ।

अष्ट्रेलियाको सिड्नीस्थित रकडेल ब्वाइजको निमन्त्रणामा आयोजित नेपाल भ्रमण बर्ष २०२० अभियान कार्यक्रम सयौं युवाको उपस्थितिमा सम्पन्न भयो । सो कार्यक्रममा बोल्दै पोखरा समाज अष्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारीले संसारको जुनसुकै कुनामा रहेता पनि राष्ट्रप्रतिको उत्तरदायित्वलाई भुल्न नहुने भन्दै नेपाल सरकारको कार्यक्रम अन्तरगत भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागि प्रवासमा रहेका सबै नेपालीलाई एकजुट भएर यो अभियानमा लाग्न अनुरोध गरे ।

नेपाल भ्रमण बर्ष २०२० नेपाल र नेपालीका लागि राष्ट्रिय पर्व भएको भन्दै संसारभर रहेका नेपाली समुदाय र विशेष गरी युवा तन्नेरी मनहरुलाई एकजुट भएर यो अभियानमा लाग्न अनुरोध गर्दै, पोखरा समाज अष्ट्रेलियाका महासचिव समित केसीले कार्यक्रम सञ्चालन गरेका थिए । एनआरएनए अष्ट्रेलिया युवा संयोजक ईर्शाद अहमदले कार्यक्रमको सफलताको शुभकामना दिदै रकडेल ब्वाइजको सामाजिक कार्यमा सधै साथमा रहने बताए । कार्यक्रममा एनआरएनए न्यू साउथ वेल्सका उपसंयोजक तीर्थ कार्कीले बिदेशमा रहेर पनि युवाले देखाएको राष्ट्रियताप्रतिको चासो सकरात्मक रहेको भन्दै सबैसँग हातेमालो गरेर अगाडि बड्न अनुरोध गरे ।

ग्रानभिल नेपाली समाजका उपाध्यक्ष भीम बस्नेत, भीएफएमका संस्थापक महेश प्रसाई, पोखरा समाजका उपाध्यक्ष तारा गुरुङ, पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले युवा अभियन्ता विजय शर्मा, कुशल केसी, जोन शाही ठकुरीलगायतको उपस्थिति रहेको सो कार्यक्रममा सबै बक्ताले राष्ट्रियताको चर्चा गर्दै अभियानको पुर्ण सफलताको कामना गरे ।

रकडेल ब्वाइजद्वारा आयोजित उक्त कार्यक्रमका संयोजक सितल खाण गिरीले सधै सामाजिक अभियानमा अग्रसर रहने भन्दै अष्ट्रेलिया भर रहेका नेपाली समुदाय र विशेष गरी युवाहरूलाई यसखाले रचनात्मक र सामाजिक कार्यमा सहयोग र सहकार्यका निम्ति आह्वान समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *