लन्डन । इलिङ्ग साउथहल निर्वाचन क्षेत्रबाट लगातार चार पटक निर्वाचित लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले पांचौ पटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुन चुनावी अभियान शुरु गरेका छन्। शनिवार अपरान्ह लेबर पार्टीका एक जना नेता तथा छाया अर्थ मंत्री जोन म्याकडोनेलले एक समारोह बीच शर्माको चुनाव प्रचार कार्यालयको उद्घाटन गरे।
उक्त अवसरमा काउन्सिलरहरू फे ब्लक तथा मुनिर अहमदले गएको १२ वर्ष सम्म सांसद शर्माले स्थानीय समुदायलाइ एकजुट पार्न तथा उनीहरुका समस्या समाधान गर्न पुराएको योगदानको चर्चा गरेका थिए। 
जोन म्याकडोनेलले आफ्नो पार्टीले सरकार बनाएमा ब्रिटेनको राजनीतिमै आमूल परिवर्तन हुने भन्दै श्रमजीवि जनताको पक्षमा आफ्नो पार्टी रहेको बताए। उनले लेबर पार्टीको पक्षमा मतदान गर्न आग्रह पनि गरे। लेबर उम्मेदवार वीरेन्द्र शर्माले भने,” समुदायमा हामीले मिलेर काम गर्यौं भने हामीलाइ कसैले पनि रोक्न सक्दैन। चरम दक्षिणपन्थीहरुले यो मुलुकमा विभाजन ल्याउन खोजिरहेका छन् ।
लेबर सरकारले हाम्रा विद्यालय, अस्पताल र वातावरण सुधार्न थप लगानी गर्ने छ, त्यसैले लेबर पार्टीलाइ जिताउन म आग्रह गर्दछु।“ चुनावी कार्यालय बिहान १० बजे देखि बेलुका ७ बजेसम्म खुला रहने र स्वयंसेवकहरुलाइ स्वागत गरिने चुनावी अभियान संयोजक केसी मोहनले जनाए। सन् २००७ मा संसदमा निर्वाचित सांसद शर्माले त्यस अघि सोही क्षेत्रबाट २५ वर्ष काउन्सिलरको रुपमा स्थानीय समुदायको सेवा गरेका थिए।
ब्रेक्जिट अन्योल कायमै रहंदा बेलायतमा समय अगावै आमनिर्वाचन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनको आमनिर्वाचन गराउने प्रस्ताव सांसदहरुले बहुमतले पारित गरेपछि आउंदो १२ डिसेम्बरमा चुनाव हुने भएको हो ।






