लन्डन । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली बिमानहरुलाई युरोपेली आकाशमा उड्न लगाइएको प्रतिबन्ध हटाएर छाड्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भएको केही महिनापछि बेलायत आएका भट्टराईले सरकारले प्रतिबन्ध फुकुवाको तयारीले केही आशा जगाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आइतबार साँझ अल्डरशटमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले युरोपेलि आकाशमा नेपाली विमानहरुको उडानमा रोक लगाउने आईकाओको निर्णय गलत भएको युरोपेली मुलुकहरुले महसुस गरेको दाबी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफूले युरोपेली संघका नेपालस्थित राजदूतहरुलाई भेटेर जति सक्दो चाँडो प्रतिवन्ध हटाउन आग्रह गरेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपालले हवाई सुरक्षामा खेलबाड गरेको भन्दै सन् २०१३ बाट नेपाली विमानहरुलाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाएको थियो। एक अर्को प्रसंगमा मन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवमा आयोजनाको निर्माण कार्य उत्साहजनक रुपमा अघि बढेको जानकारी दिए । मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आउँदो डिसेम्बरमा सम्पन्न गरी मार्च महिनादेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी गराए।
कार्यक्रमका अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक, सामाजिक विकास र बेलायतस्थित नेपाली समुदायको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाए।
उनले नेपाल भ्रमण वर्ष २०२० मा बेलायतबाट मात्र १ लाख पर्यटक नेपाल भित्राउने महत्वकांक्षी योजना सुनाए।नेपालको पर्यटन प्रवर्द्रधनका लागि गैरआवासीय नेपालीहरुसँग मिलेर बेलायतका प्रमुख सहरमा विषेश कार्यक्रम ल्याइने राजदूत सुवेदीले जानकारी दिए।
एनआरएन यूकेको नयाँ कार्यसमितिले मन्त्रीसँग आयोजनामा अन्तरक्रिया कार्यक्रम पहिलो हो । पहिलो कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरु तीनजना मात्र भए । थोरैलाई बोल्न दिएर, खाँदा बिना राम्रो सुरुवात गरेको हो कि भन्न सकिन्छ ।
निर्धारित समयभन्दा डेढ घन्टा ढिलो सुरु भएको कार्यक्रममा दुई दर्जनभन्दा बढीले माइक पाएर मन्त्रीसँग लामै कुराकानी गरे । महासचिव फणिन्द्र भट्टराईले सुरु गरेको कार्यक्रम तीन घन्टासम्म चलेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) अध्यक्ष पुनम गुरुडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्रमण वर्ष २० २० सफल पार्नका लागि बेलायतस्थित नेपाली समुदायसँग आग्रह गरिन् । उनले सबै मिलेर यो कार्यक्रम सफल पार्नुपर्ने बताइन् ।उनले बेलायत र नेपालबीच जोड्न सिधा हवाई सञ्चालनको लागि मन्त्री भट्टराईलाई आग्रह गरिन्। एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रेमगाह मगरले स्वागत मन्तव्य दिएका थिए।






