काँग्रेसमा पदाधिकारी सङ्ख्या बढाउने विषयमा विवाद

  • कल्पना पौडेल

Congress-flag1[1]काठमाडौँ- नेपाली काँग्रेसको महाधिवेशनको समय नजिकिँदै गर्दा केन्द्रीय नेताहरुबीचमा पदाधिकारीको सङ्ख्या बढाउने विषयमा मतमतान्तर बढ्दै गएको छ ।

काँग्रेसको संस्थापन पक्षका केही नेता पदाधिकारी सङ्ख्या बढाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् भने संस्थापन पक्षकै केही र देउवा पक्षका सबै नेता पदाधिकारीको सङ्ख्या बढाउन आवश्यक नभएको दाबी गर्दछन् ।

देउवा पक्षीय नेता मानिने काँग्रेस विधान मस्यौदा समितिका सदस्य बालकृष्ण खाँड काँग्रेसको विधानमा उल्लेख भएअनुसारकै पदमा पनि अहिले पदपूर्ति हुन नसकिरहेका बेला अरु पदाधिकारी थप्नु आवश्यक नरहेको तर्क गर्नुहुन्छ ।

उहाँले पदाधिकारी थप्ने विषयमा मस्यौदा समितिमा कुरा उठेको भए पनि भएकै पदाधिकारीलाई कार्यविभाजन गरी पार्टी साङ्गठनिक ढाँचामा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ “तत्कालका लागि काँग्रेसका पदाधिकारीले काम पाएनौँ भनिरहेका बेलामा गन्तीका लागि पद थप्नुभन्दा पनि मुलुकको आवश्यकताअनुुसार निर्णय गर्नुपर्छ ।”

काँग्रेसका अर्का केन्द्रीय सदस्य गगन थापा भने विधान परिवर्तन नै गर्न नहुने भन्ने कुरा राजनीतिक तर्क नहुने धारणा राख्नुहुन्छ ।

उहाँले भन्नुभयो– “सङ्घीय संरचनालाई अवलम्बन गर्न विधान संशोधन त आवश्यक छ, तर नेतालाई मिलाउनका लागि मात्रै पदाधिकारी बढाउनु भने उचित होइन ।”

उहाँले संविधान परिवर्तन आपत्ति नहुने तर नेपाली काँग्रेसको विधान संशोधन गर्दा चाहिँ पार्टी बर्बाद हुन्छ भन्ने सोच्चु उचित नभएको बताउनुभयो ।

नेपाल तरुण दलकी महिला विभाग प्रमुख सरस्वती तिवारीको भनाइ पनि उस्तै छ । केन्द्रीय कार्यसमितिको पदाधिकारी बढाएर मात्रै पार्टी सुदृढ नहुने भएकाले पदाधिकारी होइन सङ्गठन बढाउनेतर्फ लाग्नुपर्ने तिवारीको धारणा छ ।

उहाँले पदाधिकारी सङ्ख्या बढाउँदा गाउँ वडा तहदेखि नै सुरुवात गर्नुपर्ने कुरामा जोड दिनुुहुन्छ । उहाँले केन्द्र पदाधिकारी बढाउनु केही हदसम्म आवश्यकता भए पनि पार्टीको साङ्गठनिक विस्तारभन्दा ठूलो नभएको उल्लेख गर्नुभयो ।

नेपाल महिला सङ्घकी अध्यक्ष डिला सङ्ग्रौला भने पदाधिकारी सङ्ख्या बढाउँदा महिलाको सङ्ख्या पनि बढाउनुपर्नेमा जोड दिनुहुन्छ ।

स्थानीयस्तरका अधिवेशन सकिएपछि विधान संशोधनको कुरा आउनुलाई तरुण दलका अध्यक्ष उदयशमसेर राणाले खेलको नियम विपरीत भएको तर्क गर्नुहुन्छ ।

उहाँले महासमिति बैठक, केन्द्रीय समिति बैठकमा छलफल गरी गर्नुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो– “अहिले जिल्ला, क्षेत्रको अधिवेशन सकिसकेको अवस्थामा अहिले आएर पदाधिकारी सङख्या बढाउनु उपयुक्त हँुदैन तर १४औँ महाधिवेशनमा भने व्यापक छलफल गरी बढाउन सकिन्छ, अहिलेलाई पदाधिकारी सङ्ख्या बढाउन आवश्यक छैन ।”

काँग्रेसको संस्थापन पक्षका नेतालाई व्यवस्थापन गर्न भन्दै पदाधिकारीको सङ्ख्या बढाउने प्रस्तावलाई देउवा पक्षले पूरै अस्वीकार गरेको छ ।

पदाधिकारीको सङ्ख्या बढाउने वा नबढाउने भन्ने विषयमा केन्द्रीय समितिमा विवाद भएमा यसलाई स्थगित गर्नुपर्ने धेरै नेताको भनाइ रहेकाले अहिलेलाई पदाधिकारी बढाउने सम्भावना कम देखिन्छ । रासस