काठमाडौँ, १६ चैत । सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा सहमतिका लागि अविलम्ब वार्तामा बस्न प्रमुख दलका नेतालाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको ६० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले यही चैत २३ गतेका लागि तोकिएको संधिधानसभाको बैठक पनि सहमतिका लागि हो भन्नुभयो । उहाँले सो बैठकमा हालसम्म कुनै कार्यसूची तयार नभएको तर सहमति नभए विद्यमान नियम र प्रचलित अभ्यासबमोजिम संविधान निर्माणको प्रक्रिया प्रारम्भ हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नका लागि संविधानलाई सहमतिको दस्तावेज बनाउन दलका नेताहरू सक्रिय हुनुपर्छ, कथंकदाचित सहमति भएन भने प्रक्रियाका विषयमा सहमति हुनु आवश्यक छ ।” अध्यक्ष नेम्वाङले नेताहरूलाई एक ठाउँमा ल्याउनका लागि पत्रकारलाई भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
वार्तामा बस्न दललाई सभाध्यक्षको आग्रह






