तक्दीर अधिकारी
सिड्नी । सिड्नीको मोर्टेलमा प्रथम वारिवार तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शनिबार सम्पन्न भयो । वरिवार तेक्वान्दोले आयोजना गरेको प्रतियोगितामा ५ देखि १६ वर्ष उमेर समूहबीच प्रतिस्पर्धा गराइएको मुख्य प्रशिक्षक प्रकाश क्षेत्रीले जानकारी दिए ।
खेलाडीका अभिभावकलगायत कार्यक्रममा झन्डै २ सयजना भन्दा बढी दर्शकको उपस्थिति थियो । प्रतियोगितामा ७० जना खेलाडी सहभागी थिए । उक्त प्रतियोगितामा फिलिपिन्सकी ७ वर्षीया कृष्टिना, साढे ५ वर्षका स्थानीय सेभेस्टिसेन र सात वर्षकी साम्भी राजभण्डारीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनीहरुले आफ्नो समूहको प्रतिस्पर्धीलाई पराजित गरी पदकसमेत जितेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका मन केसीले विजेता खेलाडीलाई पदक र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद्का संयोजक तथा उपाध्यक्ष देव गुरुङ, युवा संयोजक ईर्साद अहमदलगायत लब्ध प्रतिष्ठित व्यक्तिको कार्यक्रममा उपस्थिति थियो ।
आउँदो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी रहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए । उनले तेक्वान्दो प्रशिक्षणले बालबालिकाको तौल मेन्टेन सजिलो हुने, प्रशिक्षणपछि बालबालिकामा स्वास्थ्य दिमाग हुने भएकाले पढाइमा ध्यान जानुका साथै स्वास्थ्य जीवन बिताउन सहयोग पुग्ने प्रशिक्षक क्षेत्रीले बताए ।







