बेलायती पर्यटकलाई नेपाल लैजान दूतावासमा पर्यटन कार्यक्रम (भिडियो सहित)

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा सुक्रबार सांझ नेपाल पर्यटन प्रवर्धन कार्यक्रम गरिएको छ । विश्व पर्यटन दिवसका अवसरमा लन्डनमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम भएको हो। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन दूतावासद्वारा गठित उच्चस्तरिय समिति अन्तर्गत ‘ट्राभल एण्ड टुर प्रमोशनल कमिटी’ ले गरेको कार्यक्रममा बेलायतस्थित ट्राभल टुर अपरेटर, ट्राभल एवं हस्पिटालिटी व्यवसायी र मिडियाको बाहुल्यता थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल सरकारको भ्रमण वर्ष अभियानलाई सफल बनाउन आक्रामक प्रचार प्रसार गरिने जानकारी दिए । ‘भ्रमण वर्ष २०२०’ मा एक लाख बेलायती पर्यटक नेपाल पठाउने लक्ष्य लिएका राजदूतले आउंदो वर्ष इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा बेग्लाबेग्लै प्रवर्धनात्मक कार्यक्रम गर्ने तयारी भइरहेको पनि जनाए । गत वर्ष बेलायतबाट ६० हजार बढि पर्यटक नेपाल घुम्न गएको तथ्यांक छ ।

महाभूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र पूर्ववत अवस्थामा फर्किसकेको जनाउंदै राजदूतले नेपाल भ्रमणका लागि सुरक्षित र उत्कृष्ट गन्तव्य भएको बताए । उनले बेलायती पर्यटकलाई एक पटक नेपाल जान पनि प्रेरित गरे । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा रहेको एवं पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिने क्रममा रहेको जनाउंदै डा. सुवेदीले नेपालमा पर्यटकहरुलाई गरिने आतिथ्य विश्वमा अन्यत्र कहीं नभएको पनि बताए ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा उत्पादित चिया, कफी विश्वकै उत्कृष्टमध्ये पर्ने बताए । उनले हाल १८ जिल्लामा चिया कफी उत्पादन भइरहेको पनि जनाए ।

कार्यक्रम संयोजक एवं नेपाल भ्रमण वर्ष २०२०, उच्चस्तरिय समिति यूके अन्तर्गत ट्राभल एण्ड टुर प्रमोशनल कमिटी संयोजक बिराज भट्टले नेपालबारे विस्तृत जानकारी समेटिएको एउटा ‘प्रिजेन्टेसन’ दिए । भट्टले आफ्नो प्रस्तुतिका क्रममा नेपालको प्राकृतिक सौन्दर्य एवं भौगोलिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक आयामबारे जानकारी दिंदै नेपाल होलिडेका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।

भट्टले नेपाल घुम्न सस्तो र सुरक्षित भएको पनि बताए । दुई दशकदेखि पर्यटन व्यवसायमा आवद्ध भट्ट लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका नवनिर्वाचित उपाध्यक्ष पनि हुन् ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य र साहसिक, धार्मिक पर्यटन झल्कने विभिन्न भिडियो देखाइएको थियो । साथै नेपालकी चर्चित नृत्यांगना दिपासा बिसी जलपरी, स्थानीय कलाकारहरु सुस्मिता थापा, सबु सेन्चुरी, अमृता गिरी, पूजा गिरी लगायतले नेपाली मौलिक तथा लोक नृत्य र मदन थापाले सांरगीबाट मालश्री धुन प्रस्तुत गरेका थिए ।

दूतावासमा पर्यटन कार्यक्रम भिडियो सहित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *