डेमोक्रेयाटहरु एनआरएनएमा बेहुला बिनाको जन्ती हुन् : डा. पौडेल

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आउँदो अक्टुबरमा काठमाडौमा आयोजना हुँदैछ । उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्व लिन अहिले दुईवटा प्यानल टिम बनाएर चुनावी दौडमा लागेको छ । अध्यक्ष पदमा उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त आ–आफ्नो टिम बनाएर चुनावी माहोलमा होमिएका छन् ।

यही सेरोफेरोमा कुल आचार्यको टिमबाट महासचिवका उम्मेदवार भनिएका डा. केशव पौडेल मत माग्दै अस्ट्रेलिया आइपुगेका छन् । एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा पौडेल लोकतन्त्रबादीहरुको पुरानो संगठन नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरम (एनएडीएफ) ले सिड्नीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया आएका हुन् ।

कार्यक्रममा डा. पौडेलले भने, ‘डेमोक्रयाटहरु एनआरएनमा सधै बेहुला बिनाको जन्ती बनेका छन् । डेमोक्रयाट एनआरएनको बिहेमा जन्ती भएर जान्छन् तर बेहुला छान्ने काम भने गर्दैनन ।’ समुहगत रुपमा उमेदबार तयार पारेर नेतृत्व छान्ने तयारीका साथ एनआरएनको अक्टुबरमा हुने विश्व सम्मेलनमा जान डा. पौडेलले सबै डेमोक्रयाटहरुलाई आग्रह गरे ।

डा. पौडेलले एनआरएनएभित्रको बिसंगतिविरुद्ध आफू महासचिव पदको उम्मेदवार भएको दाबी गरे । अहिले केही व्यक्तिको हातमा एनआरएनएको संगठन औंलामा नाचिरहेको छ, उनीहरु आफ्नै आसेपासेलाई मात्र महत्वपूर्ण पदमा जिताएर संधै राज गर्न खोज्छन्, अब त्यसो हुने छैन, यसै कारण पनि महासचिव पदमा मेरो उम्मेदवारी हो ।

डा. पौडेलले एनआरएनको मुल मुद्दाका रुपमा रहेको दोहोरो नागरिकता कार्यान्वयन र भ्रमण वर्ष, सिप र लगानी भित्राउने कुरामा आफ्नो बिशेष भुमिका रहने बताए ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले एनआरएन अमेरिकाको दुइपटक सफल नेतृत्व गरेका डा केशव पौडेल महासचिवका लागि योग्य उम्मेदबार रहेको र अस्ट्रेलियामा रहेको सबै एनआरएनकर्मीले उनलाई सहयोग गर्ने बताए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, सुरेन्द्र सिग्देल, आइसीसीकी पूर्वप्रवक्ता रञ्जु थापा, पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका पुर्वउपाध्यक्ष नन्द गुरुङ, एनएडीएफका पुर्वअध्यक्षहरु बालचन्द्र भट्टराई, दिनेश जोशी, डिल्ली ढकाललगायतले डा. पौडेललाई सफलताको शुभकामना दिए ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, युवा संयोजक इर्शाद अहमद, तनहुँं समाजका सूर्य खनाल, चितवन समाजका अध्यक्ष छवि सापकोटा, जनसम्पर्कका अभियन्ता प्रेम सापकोटा, एनएडीएफका सचिव थानु शाक्य, रामजी बस्नेतलगायतले डा. पौडेलको चुनावी अभियान सफल होस भनी कामना गरे ।

कार्यक्रममा एनएडीएफका अध्यक्ष विवेक थापाले संसारभर छरिएर रहेका डेमोक्रयाट परिवारवीच एकता हुने हो भने कुनै पनि प्रवासी संघ संगठनको नेतृत्वको चाबी अरुको हातमा नजाने पक्का रहेको बताए ।

एनएडीएफका अध्यक्ष विवेक थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव माधव गैरैले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष सुरेन्द्र सापकोटाले स्वागत र उपाध्यक्ष पूर्ण घिमिरेले कार्यक्रममा सहभागीकालाई धन्यवाद भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *