सिड्नी । विभिन्न किसिमले विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई संगठित गरि उनीहरुले हासिल गरेको सीप, दक्षता र पुँजीलाई यथोचित नेपालको हितमा योगदान पु-याउनका लागि एउटा अभियान शुरु गरिएको पनि डेढ दशक पुरा भैसकेको छ ।
विदेशिएका नेपालीहरुलाई एकतावद्ध गराई मातृभूमि उपरको जिम्मेवारी वहन गर्न अभिप्रेरित गर्ने प्रयास आफैंमा स्तुत्य प्रयास हो । यस क्रममा एनआरएनएले स्वदेश एवं विदेशमा नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकबीच भ्रातृत्व विकास गर्दै सामाजिक एवं आर्थिक विकासमा कार्य गर्दै आएको छ ।
यसका अलावा संसारका कैयौं देशहरुमा अवैतनिक राजदूतका रुपमा गैरआवासीय नेपालीहरुले निर्वाह गर्नु भएको भूमिका निश्चित रुपमा प्रेरणादायी छ । देश भित्रको कुरा गर्दा स्थापनाको छोटो समयमा नै लगानी भित्र्याउने, परियोजना सञ्चालन गरी रोजगारी अभिवृद्धि गर्ने कुरा देखि नेपाल सरकार, राजनैतिक दल, उद्योगी व्यापारी एवं अन्य लगानीकर्ताहरुबीच समन्वयात्मक भूमिका गर्ने कार्यमा एनआरएनए एवं यसका अभियन्ताहरु हरदम क्रियाशिल रहेको यथार्थता कसैबाट छिपेको छैन ।
तर पनि आज एनआरएनएभित्र एउटा फरक प्रवृत्ति र संस्कार विकसित भएको छ । कतिपय राष्ट्रिय समन्वय परिषद गठन भएका देशहरुमा चलेका अस्वस्थ गतिविधिहरुले स्वयं संघको गरिमालाई कतै ओझेलमा पार्ने हो कि भन्ने आशंका पैदा भएको छ । यो कुरा हामी सबै गैरआवासीय नेपालीहरुले महसुस गर्नुपर्ने बेला आएको छ ।
एनआरएनए स्थापनाकालिन समयदेखि अष्ट्रेलिया र ओसेनिया क्षेत्र सदैव अग्रणी भूमिकामा रहेको तथ्य सबैसामु छर्लंग छ । उज्वल भविष्यका लागि हामीलाई एउटा गर्विलो विगतले मात्रै पुग्दैन । जिम्मेवार एवं उर्जाशिल वर्तमान पनि उत्तिकै खाँचो छ । जम्मा ३५ जना सदस्यहरुबाट शुरु भएको एनआरएनए अष्ट्रेलियामा अहिले ११ हजार भन्दा ज्यादा पुँजीकृत सदस्यहरु छन् ।
न्युजिल्याण्ड एनआरएनएको प्रगति पनि उत्तिकै महत्वपूर्ण छ । अब हामीले पपुवा न्युगिनि, फिजीलगायत आसपासका राष्ट्रहरुमा समेत रहेका गैरआवासीय नेपालीहरुले एनआरएनएको मूल प्रवाहमा सामेल गर्न जरुरी छ । यत्तिले मात्र हाम्रो दायित्व पुरा हुँदैन । ओसियना क्षेत्र भनेर नामाकरण गरिए पनि एसिया प्रसान्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली मनहरुलाई एकतावद्ध गरी नेपाली हुनको पहिचान एवं सबल तथा समन्वयकारी नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकता छ ।
यसै सन्दर्भमा अहिले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन आगामी अक्टोबर महिनाको १५ देखि १७ सम्म काठमाडौंमा सम्पन्न हुँदैछ । सम्मेलनमा संसारभरिका प्रतिनिधि एनआरएन हरु करिब दुई हजारको संख्यामा उपस्थित भएर नेपालमा लगानी भित्र्याएर नेपाल र नेपालीको आर्थिक एवं सामाजिक प्रगतिमा सहयोगी बन्ने एजेण्डामा छलफल गर्दैछन् ।
स्वयं नेपाल सरकारले आगामी वर्ष २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर उल्लेख्य पर्यटक भित्र्याइ नेपालको आर्थिक एवं पर्यटन विकासमा फड्को मार्ने योजना सहित कार्यक्रम ल्याएको सन्दर्भमा यस पटकको गैरआवासीय नेपालीहरुको सम्मेलन महत्वपूर्ण हुने ठानिएको छ ।
त्यसो त यस पटकको काठमाडौं सम्मेलनले संघको अन्तर्राष्ट्रिय एवं क्षेत्रीय समितिका नेतृत्व् चयन गर्दैछ । यावत कुराहरुलाई मध्यनजर गर्दै पंक्तिकारले ओसियाना क्षेत्रको संयोजक पदमा उम्मेदवार हुने निर्णय गरेको छ । डेढ दशक ज्यादा अष्ट्रेलियामा रहेर मैले मेरा तर्फबाट सामाजिक विकास र अप्ठेरोमा परेकाहरुलाई सघाउन मैले सकेको भूमिका खेल्दै आएको छु ।
नेपालको एक राजनैतिक परिवारमा जन्मे हुर्केकोले समाज र राष्ट्रप्रतिको जिम्मेवारीले मलाई सदैव घच्घच्याएको हुन्छ । त्यसो त आफ्नो बुद्धि, विवेक एवं क्षमताले भ्याएसम्म मैले अष्ट्रेलियामा रहेर यहाँका नेपाली समाजउपर योगदान पु-याउँदै आएको छु । सामाजिक कार्यमा मेरो रुचि एवं अविच्छिन्न लगावका कारण हुनुपर्छ, मलाई थुप्रै सहृदयी साथीहरुको प्रेरणा एवं साथ सहयोग प्राप्त छ नै ।
तथापि मैले विगतमा गैह्र आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्य समितिमा सदस्यका रुपमा ओसियाना क्षेत्रको प्रतिनिधित्व गर्दै पु-याएको योगदान पश्चात मलाई क्षेत्रीय संयोजकका रुपमा देख्न चाहने साथीहरुको संख्यामा बढोत्तरी आएको कुरालाई नकार्न सकिन्न ।
जति बेला गैह्र आवासीय नेपाली संघको स्थापना भएको थिएन उतिबेला छिन्नभिन्न रहेका नेपालीहरुलाई अष्ट्रेलियामा संगठित गरेर एकिकृत गर्न र उनीहरुको अप्ठेरोमा सघाउन पंक्तिकार विगतदेखि नै सक्रिय छ । शुरुमा कठिन र जटिल समयमा थालि आएको प्रयासमा अहिले अरु साथीहरु संलग्न भएको पाउँदा म आफैलाई गौरवान्वित महसुस गरेको छु ।
नेपाल अष्ट्रेलिया न्युजिल्याण्ड क्षेत्रमा विशेष गरी नेपाली विद्यार्थीहरुको उपस्थिति दिनानुदिन बढ्दो अवस्थामा छ । एनआरएनएका आफ्नै सीमा र बाध्यताहरु होलान् । तथापि एउटा नेपालीले अर्को नेपालीलाई आपत विपद्मा सहयोग गर्ने कुरामा हामीलाई कुनै सीमाले छेकबार लगाउन सक्दैन ।
विद्याथीहरुलाई समन्वय एवं सहयोग गर्ने कुरामा सजगता एवं सक्रियतापूर्वक अझ क्रियाशिल हुँदा मलाई खुशी मिल्नेछ । यो वा त्यो कारणले पुरानो र स्थापित पुस्ताका यो क्षेत्रमा बसोबास गर्ने नेपालीहरु एनआरएनएको मूल प्रवाहमा सामेल हुन हिच्किचाइ रहेका छन् । ओसियाना क्षेत्रीय संयोजकको जिम्मेवारी पाए पछि उहाँहरुलाई एनआरएनए भित्र सामेल गरी समग्र रुपमा दक्षता, सीप एवं पूँजी लगानीको वातावरण बनाउने कार्यमा लाग्नका लागि पर्ने इच्छा एवं अठोट लिएको छु ।
कान्छो पुस्ता अर्थात हाम्रा छोराछोरी जो विदेशमै जन्मे, हुर्के उनीहरुलाई नेपाल र नेपालीत्वप्रति लगाव सिर्जना गराउन रचनात्मक कार्य गर्ने अठोट लिएको छु । नेपाली कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा सम्वद्र्धन गराउन संघलाई अहोरात्र उत्प्रेरित गराउनुपर्ने छ । साथै नेपालका पर्यटन प्रवद्र्धनका खातिर कार्यक्रम ल्याएर क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुसँग समन्वय गरी काम गर्नुपर्ने छ । राष्ट्रिय परिषद गठन गरी सबैलाई मूल प्रवाहमा ल्याउने काममा मेरो अग्रसरता हुनेछ ।
अन्त्यमा, संघमा मेरो र तेरो भन्ने कुरालाई कमजोर बनाउँदै हाम्रो भन्ने कुरालाई बलियो बनाएर सामूहिक भावनाबाट मात्र अपेक्षित उद्देश्य प्राप्त गर्न सकिनेछ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सबै दाजुभाई दिदि बहिनीहरुको सामूहिक प्रयत्न जुटाएर काम गर्ने अभिलाषका साथ यसपटक गैरआवासीय नेपाली संघको ओसियाना क्षेत्रीय संयोजकमा उम्मेदवार हुने निर्णय गरेको छु ।
आशा एवं विश्वास छ । यस क्षेत्रका सबै साथी भाईको सहयोग प्राप्त हुने नै छ । म आफू मात्र भन्दा पनि यस क्षेत्रको कुशल नेतृत्व जोसुकैबाट हुनुपर्छ भन्ने मान्यता राख्दछु ।
जोसुकै आए पनि यस क्षेत्रलाई कुशल नेतृत्व दिएर देश र जन्मभूमिको विकास र सांस्कृतिक आदानप्रदानमा सेतुको भूमिका खेल्ने नेतृत्व अहिले आवश्यक छ । यस विषयमा आवश्यक छलफल गर्नका लागि म सदैव खुला छु । आउनुस् संवादको थालनी गरौं ।
(लेखक एनआरएनएका आइसीसी सदस्य हुन् )
एनआरएनए आइसिसी सदस्य दिनेशराज जोशीले आगामी अक्टोबर महिनामा हुने विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
करिब डेढ दशकदेखि अस्ट्रेलियामा एनआरएनए तथा अन्य संस्थामार्फत सामाजिक कार्यमा सक्रिय जोशीले ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्युगिनी, फिजी लगायतका देशहरूमा बस्ने गैरआवासीय नेपालीहरूलाई एकतावद्ध गर्दै संस्थामा अपनत्व महसुस गराउनका साथै आफूले संस्थाभित्र रहेर सिकेको सीप र ज्ञानलाई यो संस्थाको सवलीकरणमा प्रयोग गर्नका लागि उम्मेदवारी दिएको कुरा बताए।
गैरआवासीय नेपालीहरूले संसारका कैयौँ देशहरूमा अवैतनिक राजदूतको भूमिका निर्वाह गरेको बताउँदै संस्था स्थापनाको छोटो समयमा नै लगानी भित्र्याउने, रोजगारी अभिवृद्धि गर्नेदेखि नेपाल सरकार, राजनैतिक दल, उद्योगी व्यापारी एवं अन्य लगानीकर्ताहरू बीच समन्वयात्मक भूमिका गर्ने कार्यमा एनआरएनए एवं यसका अभियन्ताहरू हरदम क्रियाशिल रहेकाले भविष्यमा संस्थाका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने जोशीले बताए ।
जोशीले ओसिनिया क्षेत्र र नेपालबीच सेतुको खाँचो रहेकाले त्यस दिशातर्फ आफूले काम गर्ने, विद्यार्थीहरूलाई एनआरएनएको मूल प्रवाहमा ल्याउँदै उनीहरूको दक्षता, सीप र पूँजीको लगानी गर्ने वातावरण बनाउने, नेपाली कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण गर्ने, नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमहरू ल्याउने लगायतका एजेण्डाहरू प्रस्तुत गरेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुने विश्व सम्मेलनले सन् २०१९–२१ को नयाँ कार्यसमितिको चयन गर्नेछ ।






