लण्डन । डायमन्ड बुद्धिस्ट सेन्टरले बेलायतको साउथईस्ट लण्डन क्षेत्रमा एउटा बौद्ध गुम्बा निर्माणको लागि च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बौद्ध गुम्बा निर्माण गरेर बौद्ध धर्मको सम्बर्धन र भगवान बुद्धले प्रतिपादन गरेका बौद्ध दर्शनलाई अभ्यास गर्ने थलो बनाउने अभियान अन्तर्गत गत अगष्ट २४ को दिन स्थानीय फाल्कोनवुड कम्युनिटी सेन्टर साउथ ईस्ट लण्डनमा बौद्ध गुम्बा निर्माणको लागि गरिएको यो दोस्रो च्यारिटी गरेको हो ।

यस क्षेत्रमा नेपालीहरूको कुनै बौद्ध मन्दिर नभएको अवस्थामा एउटा बौद्धगुम्बा निर्माण गर्ने पहल सेन्टरले गर्दै आएको छ ।
संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बौद्धधर्मका गुरु खेन्पो निङ्मा शिङ्घे, अतिथिहरू रोयल बारो अफ बेक्स्लीहिथका काउन्सिलरहरू फ्रेन्च लुई, अगुन्दाओ माबेल, डेभ पटसन् तथा विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । 















कार्यक्रमलाई सम्बोधन गर्दै सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बौद्ध गुमबा निर्माणको योजना र यसका लागि भइरहेको गतिविधिबारे जानकारी गराएका थिए । स्थानीय काउन्सिलरहरुसंग समेत यस अभियानका बारेमा छलफल चलाइरहेको अध्यक्ष गुरुङले बताए । संस्थाका कोषाध्यक्ष सुर्जा गुरुङले गुम्बाका लागि अहिलेसम्म प्राप्त सबै दाताहरुको सहयोग करिब १ लाख पाउण्ड पुगेको जानकारी दिएका थिए । 









संस्थाका महासचिव योगेश गुरुङ र डा. सुदर्शन गुरुङले सञ्चालन गरेको कार्यक्रमलाई तरिकाले धर्मगुरु, अतिथिहरू तथा सभाध्यक्षद्वारा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । समाजका उपाध्यक्ष हितमान गुरुङबाट स्वास्थ्य सुरक्षा ब्रिफ, समाजकी महिला उपाध्यक्ष मिना गुरुङबाट स्वागत मन्तव्य सम्बोधन गरेलगत्तै समाजका अध्यक्ष सुमलकुमार गुरुङले समाजको गतिविधि र भविष्यमा निर्माण गरिने बौद्धगुम्बाबारे पावरप्वाईन्टबाट प्रस्तुति गरेका थिए । कार्यक्रममा विभिन्न अतिथीहरुका समबोधनको क्रममा बीचबीचमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो ।
त्यसअवसरमा मोहन गुरुङ, विजय गुरुङ, केश गुरुङ, क्या. रि.नारायणबहादुर गुरुङ, एमभिओ, नरेश गुरुङ, समाजका प्रमुख सल्लाहकार राम गुरुङ, काउन्सिलर फ्रेन्च लुइ र श्रीमती पुनम गुरुङ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको अर्को रोचक पक्ष धर्मगुरुबाट दान र पुण्य अर्जनको बारेमा दिइएको प्रवचन थियो । कार्यक्रममा संस्थाको ट्रस्टी र आजिवन सदस्य बनेर आर्थिक सहयोग गरेका अनुयायीहरूलाई प्रमाणपत्र धर्मगुरुको हातबाट प्रदान गरिएको थियो । कार्यक्रमलाई सहयोगी, राफल चिट्ठाका पुरस्कार प्रायोजक रसांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित एनआरएन यूकेका उम्मेदवारहरुको छोटो परिचय समेत गराइएको थियो । सांस्कृतिक कार्यक्रमअन्तर्गत डा. सुदर्शन गुरुङ, दिपक थापा, दिव्यानी शर्मा, रसना गुरुङ, यामु गुरुङ र सारादेवी गुरुङले गीत प्रस्तुत गरेका थिए भने प्रसुन्न कण्डेल, चन्द्रदेवी गुरुङ, कुसुम गुरुङ र शिवराम गुरुङ, बीईएमले आकर्षक र मनोरञ्नात्मक नृत्यहरू देखाएका थिए ।






