लण्डन । जुम्लामा बसेर पूर्ण समाजसेवामा आफ्नो जीवन समर्पण गर्ने सामाजिक अभियन्ता राधा पौडेललाई लण्डनमा सम्मान गरिएको छ ।
शनिबार लण्डन स्थित ब्लु अर्किड रेस्टुरेन्टमा एक कार्यक्रम गरी नेपालिज नर्सिङ्ग एसोसिएसन युकेले पौडेलको सम्मान गरेको हो । कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदुत तेज ब छेत्रीले खादा तथा सम्मानपत्रले उनलाई सम्मान गरे । कार्यक्रममा एन आर एन युके अध्यक्ष महेन्द्र कंडेल , पुर्व अध्यक्ष कुल आचार्य , बुद्धिजिवी डा राघव धितालका साथै हाट फाउन्डेसनका विकल आचार्य , साहित्य बिकास परिषदका सुरेश जङ शाह , यती एसोसिएसनका उमेश मोक्तान लगायत बेलायत स्थित विभिन्न नेपाली संघसस्थाका प्रतिनिधि र नेपाली नर्सहरुको उल्लेख्य उपस्थिती थियो ।
कार्यक्रमका वक्ताहरुले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर जुम्ला जस्तो विकट र दुर्गम क्षेत्र पुगेर बिपन्न जनताको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पन गर्ने पौडेलको मुक्तकन्ठले प्रशन्सा गरे। सम्मानित पौडेलले आफु संस्थापक अध्यक्ष रहेको एक्सन वर्क्स नेपालबारेको एक वृतचित्र देखाउदै संस्थाले सन्चालन गरेका कामहरुको बिषयमा जानकारी गराइन।एसोसिएसनकी अध्यक्ष सुशिला कार्किको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष प्रसुना कंडेलले सन्चालन गरेकी थिइन । 
नर्सिङको सरकारी जागिर छोडेर समाजसेवामा लागेकी पौडेलले जुम्लामै एक दशक बढी बिताइसकेकी छन् । नारी शसक्तिकरण, ग्रामिण विकास , विश्व शान्ति लगायतका लक्ष राखेर सन् २०१० मा स्थापित एक्सन वर्कस नेपालकी पौडेल संस्थापक अध्यक्ष हुन् । सरकार माओवादी युद्धका बेला जुम्लामा बसेर काम गर्दाको अनुभव समेटेर पौडेलले लेखेको पुस्तक खलङगामा हमलाले सन २०१४ को मदन पुरस्कार जितेको थियो । एन आर एन युकेको ३५ लाख रुपैयाँ सहयोगमा तीन वर्षदेखी जुम्लामा सन्चालित बर्दिङ सेन्टर पनि पौडेलको सयोजनमा सन्चालित छ ।






