आर्शिवाद र टिकाको भरमा नेतृत्व सुम्पने परम्परा अन्त्य हुनुपर्छ : उपाध्यक्ष आचार्य

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुल आचार्य संयुक्त राज्य अमेरिकामा चुनावी अभियान सकेर क्यानाडा पुगेका छन् । एनआरएनको अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेर आचार्य यतिबेला विश्व भ्रमणमा छन् । उनले यो साता न्यूयोर्क र टेक्सास राज्यको डालस सहरमा आफ्ना सहयोगीहरुसँग भेटघाट र अन्तरक्रिया गरेका थिए ।

डालसमा आयोजित अन्तरक्रियामा आचार्यले अमेरिका एनआरएनको एउटा सम्मानित र बलियो आधार क्षेत्र भएको बताएका थिए । अमेरिकालाई कर्मथलो बनाएका साथीहरुले मातृभूमिको सेवामा धेरै समय र श्रोत खर्चेको र खास गरी भूकम्पपछि एनआरएनको संयोजकमा अमेरिकाबाट गरेको सहयोगका लागि संघको तर्फबाट उनले आभार व्यक्त गरे । आचार्यले एनआरएनको नयाँ नेतृत्वमा अमेरिकाको सम्मानपूर्ण स्थान होस् भनेर आफूले पहल गर्ने बताएका थिए ।

एनआरएनले नेपालको पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षालगायत धेरै क्षेत्रमा लगानी गरिसकेको र त्यत्तिकै महत्वपूर्ण बौद्धिक लगानी पनि भएको उनले बताएका थिए । एनआरएनको नागरिकताको विषयमा ऐनले भनेको सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारबारे स्पष्ट हुन जरुरी रहेको उनले बताए । नेपाली नागरिकको रुपमा हामीसँग रहेको सम्पत्ति गैरआवासीय नेपाली नागरिक पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन जरुरी छ । उनले भने, ‘भूपू गोरखाका लागि पनि विशेष व्यवस्था हुनुपर्छ ।’

कानुन नबन्दासम्म एनआरएन चनाखो रहनुपर्ने बताए । संस्थालाई कसरी बलियो, समावेशी र संसारभरि रहेका प्रवासी नेपालीहरुको अपनत्व महसुस गर्ने संस्था कसरी बनाउने भन्ने अहिलेको चुनौति भएको उनले बताए । यस विषयमा थप छलफल र विचार मन्थन हुनुपर्नेमा उपाध्यक्ष आचार्यको जोड थियो ।

यस्तै न्यूयोर्कमा आयोजित अन्तरक्रियामा आचार्यले एनआरएनए चुनावमा टिका लगाउने प्रथा अन्त्य गरी सबैलाई क्षमता प्रदर्शन गर्ने अवसर दिइनुपर्नेमा जोड दिए । आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी आचार्यले भने, क्षमता हुनेहरुलाई पाखा लगाएर कसैको आर्शिवाद र टिकाको भरमा नेतृत्व सुम्पने परम्परा अब अन्त्य गरिनुपर्छ ।’

प्रजातान्त्रिक प्रकृयाबाट नयाँ नेतृत्व चुनिनुपर्नेमा जोड दिँदै आचार्यले भने, ‘चुनाव एउटा प्रकृया हो, ८० लाख गैरआवासीय नेपाली भइसके । जो सक्षम छ उसलाई अवसरको सिर्जना गर्नुपर्छ र चुनाव हार्दैमा निषेध गर्ने र जित्दैमा अहमता देखाउने प्रवृत्ति अन्त्य हुनुपर्छ । कार्यक्रमलाई सोनाम लामा, खगेन्द्र जिसीलगायतले सम्बोधन गरेका थिए । आचार्य चुनावअघि विश्व भ्रमणमा निस्केर तल्लोदेखि उपल्लो तहका गैरआवासीय नेपालीसँग परामर्श र सुझाव लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *