१२ औं एनआरएनए यूरोप सम्मेलन : आर्थिक कूटनीतिमा जोड

रोम । इटलीको राजधानी रोममा हिजो शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएन) को १२ औं युरोपेली बैठक घोषणापत्र जारी गर्दै आज आइतबार सम्पन्न हुँदैछ । सम्मेलनमा भाग लिन न्याय कानुन तथा संसदीय मन्त्री भानुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला सहभागी थिए । मन्त्री ढकालले गैरआवासीय नेपालीलाई प्रदान गरिने नागरिकताबारे भइरहेको काम कारबाहीबारे बोलेका थिए भने कांग्रेस नेता कोइरालाले एनआरएनलाई कांग्रेसले हेर्ने दृष्टिकोणबारे आफ्ना कुरा राखेका थिए ।

यसपटक नयाँ बिषयले प्रवेश पायो । युरोपका नौ देशका नेपाली राजदूतबीचको बहसमा आएको बिषय थियो– नेपालको आर्थिक कूटनीति । बहसमा राजदूतहरुले व्यापार, लगानी, पर्यटन र बैदेशिक रोजगारसम्बन्धी आ–आफ्ना अनुभव सुनाउँदै नेपालको आर्थिक कुटनीतिका कुरा राखे ।

छलफलमा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले आर्थिक कुटनीतिमा जोड दिएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणपछि नेपालमा लगानीको बाताबरण बनेको विश्लेषण सुनाए । बाताबरण संरक्षणमा फ्रान्सले ठुलो योगदान गरेको बताउदै उनले भने, ‘निर्देशन पाए यो क्षेत्रमा फ्रान्ससंग सहकार्य अगाडि बढाउन सकिने अबस्था छ ।’ राजदूत अधिकारीले गत वर्ष ३२ हजार फ्रान्सेली पर्यटक नेपाल गएको पर्यटन क्षेत्रमा पनि नेपालले फ्रान्सबाट धेरै सिक्न सक्ने बताए ।

त्यस्तै, सयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग (जेनेभा) र नेपाली राजदुतावास स्वीट्जरल्याण्डका उपप्रमुख तीर्थराज वाग्लेले प्रधानमन्त्री ओलीले गत जनवरीमा डावोस बैठकमा भाग लिएको स्मरण गर्दै भने, ‘हाम्रो आवश्यकता, प्राथमिकता र भिजन के हुन् ? त्यसमा अन्तर्राष्ट्रिय समुदायले के गर्नुपर्छ भन्ने कुरालाई केन्द्रित गरेर सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भएको थियो । त्यसबाट प्राप्त निर्देशनहरुलाई प्रस्तुतिमार्फत राष्ट्रसंघमा राख्दै आएका छौं ।’

युरोपियन युनियन (इयु) का लागि नेपाली राजदूत लोकबहादुर थापाले नेपालले पनि युरोपमा प्रभावकारी आर्थिक कुटनीति गर्ने हो भने ईयु ‘फोकस्ड’ हुनपर्छ भनेर बुझाउन यो प्रसंग जोडेका थिए । त्यसक्रममा सबभन्दा पहिले सम्भावना र अवसरको जानकारी लिनुपर्ने बताउँदै थापाले भने, ‘विकासशील देशहरुको लागि युरोपियन युनियन एउटा ठूलो बजार हो । यसमा ‘कनेक्टिभिटी’को अवस्था पनि हेरिनुपर्छ ।’

अष्ट्रियाका लागि पहिलो आवासीय नेपाली राजदूत हुन्, प्रकाशकुमार सुवेदी । आर्थिक कुटनीतिबारे शनिबार दिउँसो रोममा भएको नेपाली राजदूतबीचको बहसको मध्यस्थता उनैले गरेका थिए । उनले संघीय नेपालको उद्योग रणनीति परिवर्तन हुनुपर्नेमा जोड दिए । स्पेनका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेललाई समय दिदै गर्दा सुवेदीले नयाँ दूतावासको मिसनको पीडा आफूले बुझेको बताए । नेपालले युरोपमा दुईवटा नयाँ मिसन खोलेको छ– अष्ट्रियाको भियना र स्पेनको मड्रिडमा ।

‘रवीन्द्रनाथ ठाकुरले ‘यो जुनी सितारको ताल मिलाउदैमा गयो, अर्को जुनी पाए संगीत बजाउँथे’ भनेझैं नयाँ दूतावासमा मेच, टेबललगायतका आधारभूत कुरा जोड्दैमा हाम्रो पनि समय बित्दैछ’, अष्ट्रियाका राजदूतसुवेदीले भने, ‘अब स्पेनको वृत्तान्त सुनाउन राजदूत पौडेललाई अनुरोध गर्छु ।’

त्यसपछि मड्रिडका पौडेलले भने, ‘सन् २०१८ मा नेपाल गएका पर्यटक संख्या २६ प्रतिशत बढ्यो, एउटा दूतावास स्थापनाको महत्व त्यही नै हो । स्पेनिसहरु घुम्न मन पराउँछन् । गत बर्ष कुल जनसंख्याको ३३ प्रतिशत अर्थात् एक करोड ६० लाख स्पेनिसले विदेश भ्रमण गरेका थिए ।’

काबा नेपाली राजदूत पौडेलले गतबर्ष स्पेनले आफ्नो जनसंख्याको दोब्बर आठ करोड ३७ लाख पर्यटक भित्र्याएको आँकडा पनि प्रस्तुत गरे । स्पेनको पर्यटन विकासबाट नेपालले सिक्नुपर्नेमा जोड दिदै उनले भने, ‘युरोपका फुटबल स्टारहरुको भ्रमण गराउन सके नेपालमा आईफा अवार्ड आयोजना बराबर नै हुने थियो ।’उनले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र चन्द्रगिरी नगरपालिका– १४ को वेष्ट काठमाडौ फुटबल क्लवबीच दुई पक्षीय सम्झौता भएको जानकारी पनि दिए ।

२०३ बर्ष पुरानो लण्डन राजदूतावासको पालो आयो । दूतावासको प्रतिनिधित्व गरेका द्वितीय सचिव लव सुवेदीले बेलायतसंगको ब्यापारमा २०१५ यता नेपाल नाफामा रहेको प्रगति सुनाए । यो नाफा चिया र कफीबाट भएको उनले बताए । द्वितीय सचिव सुवेदीले बेलायतमा नेपालका १२ सय डाक्टर, पाँच हजार नर्स र एकहजार भन्दा बढि इञ्जिनियरले काम पाएको विवरण पनि सुनाए ।

उनका अनुसार, बेलायतमा पाँचसय भन्दा बढी नेपालीले रेष्टुरेन्ट चलाएका छन् भने सुरक्षा क्षेत्रमा तीन हजार भन्दा बढी नेपाली कार्यरत छन् । उनले भने, ‘वेलायतमा स्थायी बसोवास गर्ने भूपू गोर्खा परिवार संख्या पनि हजारौं भइसके ।’

जर्मनीको बर्लिनस्थित नेपाली दूताबासले युरोपका १० मुलक हेर्नपर्छ । राजदूत रमेशप्रसाद खनालले नेपाललाई विश्वको व्यापार, पर्यटन र संस्कृतिको केन्द्र बनाउने उदेश्यका साथ काम गरिरहेको बताए । उनले जर्मनीमा १७ सय नेपाली विद्यार्थी रहेको जानकारी गराउँदै भने, ‘गत बर्ष ४० हजार जर्मन नेपाल पुगेकोमा भ्रमण बर्ष– २०२० मा यो संख्या ६० हजार पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

जर्मनीका खनालपछि डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले युरोपमा ‘नेपाल इज अ कन्ट्री अफ माउन्ट एभरेष्ट’ भनेर ‘नेचुरल्ली ब्राण्डिङ’ गर्नपर्ने बताए । उनले भने, ‘नेपाललाई गौतम बुद्वको देश भनेर पनि ब्राण्डिङ गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *