तक्दीर अधिकारी
सिड्नी । गोरखा समाज अष्ट्रेलियाले आयोजना गर्ने गाईजात्रा तथा तीज महोत्सवको तयारी पूरा भएको छ । समाजले अगष्ट १८ तारिक आइतबार सिड्नीको लिड्कमस्थित वोयाट पार्कमा गाईजात्रा र तीज महोत्सव एकै दिन आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल र नेपालीलाई विश्वमा चिनाउने भेषभुसा, बाजागाजासहितको झाँकी र परेड हुनेछ । नेपालका हाँस्य प्यारोडी गायक राजा राजेन्द्र र हाँस्य तथा लोक गायिका बबिता बाँनिया (जेरी) को बिशेष प्रस्तुति रहनेछ । नेपालबाट आएका यी कलाकारलाई अष्ट्रेलियामा रहेका नेपाली कलाकारले साथ दिने छन् । सँधैं हसिलो मुहारमा प्रस्तुत हुने लोक गायिका जेरीसँग स्थानीय लोक गायकको लोकदोहोरी भिडन्त रोचक हुने अनुमान गरिएको छ । यसका साथै लाखेनाच, टाकटुकेजस्ता फरक प्रस्तुति कार्यक्रममा रहने आयोजक गोरखा समाजका अध्यक्ष त्रिलोचन पोखरेलले बताए ।
समाजका अध्यक्ष पोखरेलका अनुसार प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण गर्ने कार्यक्रम आयोजना गरिएको हो । उनले भने, ‘समुदायमा भइरहेका अन्य सांस्कृतिक कार्यक्रम भन्दा नितान्त फरक हाँस्य र मनोरञ्जनलाई समेट्ने गरी कार्यक्रम प्रस्तुत हुनेछ । नेपालका प्रचलित र मौलिक गाईजात्राको साथमा तीज कार्यक्रम एकै स्थानमा सहभागीले मनोरञ्जन लिन सक्ने छन् । समाजको आयोजनामा गत वर्ष अष्ट्रेलायामै पहिलो पटक ऐतिहासिक गाईजात्रा भब्यताको साथ सम्पन्न भएको थियो ।
मल्टी डाईनामिक रियल स्टेटको प्रमुख प्रायोजन रहेको यस कार्यक्रममा विभिन्न स्वादका खानाका परिकारसहितको फुड स्टल तथा विभिन्न व्यवसायिक स्टल रहनेछन् । बालबालिकाको मनोरञ्जनका लागि बाल खेल साधनहरु पनि रहनेछ । प्रवेश निःशुल्क रहेको यस कार्यक्रमलाई भब्य रुपमा सफल पार्न आयोजक संस्थाले सिड्नीवासी नेपाली समुदायलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
अस्ट्रेलियामा आयोजना हुने विभिन्न कार्यक्रममा साथ र सहयोग गर्दै आएको मल्टी डाइनामिक रियलस्टेटले गोरखा समाजले आयोजना गरेको गाईजात्रा तथा तीज कार्यक्रमलाई पनि प्रायोजन गरेको छ । रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेलले भने “अस्ट्रेलियावासी नेपाली समुदायको साथ र विश्वासले हामी यहाँसम्म आइपुगेका हौं, नेपाली समुदायलाई जुटाउने यस्ता सामाजिक कार्यक्रममा सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ ” । इभेन्ट पार्टनरमा एन्डभान्स कलेज अफ हेल्थ र अक्वा प्रोपर्टी सर्भिसेस रहेका छन् भने प्रिमो एजुकेसन एन्ड भिसा सेर्भिसेस भिसा पार्ट्नर्मा रहेका छन ।







