काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले २००६ साल वैशाख १० गते नेकपा स्थापना गर्नु भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लड्नु भयो । १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनु भएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन बिस्तारमा लाग्नु भयो । उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन समेत गर्नु भएको छ ।
पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ । २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ ।






