लन्डन । प्रदेश–३ की सांसद एवम नेपाली कांग्रेस नेतृ विजुला बर्मा डेनमार्क आउने भएकी छन् । नेपाली कांग्रेस पार्टीको केन्द्रीय प्रशिक्षण विभागले जनसम्पर्क समितिका सदस्यहरुलाई प्रशिक्षण दिन तय गरेको कार्यक्रमका सहभागी हुन् उनी डेनमार्क आउन लागेकी हुन् ।
कार्यक्रम राजधानी कोपनहेगनमा जुन २१ देखि २३ सम्म हुँदैछ । कार्यक्रमका लागि कांग्रस केन्द्रीय उपसभापति विमलेन्द्र निधि, सांसद डा. मिनेन्द्र रिजाल एवम् पूर्व उपसभामुख एवम् चित्रलेखा यादव डेनमार्क आउने तयारीमा छन् । करिब ३२ देशका जनसम्पर्क समितिका लागि तय भएको प्रशिक्षण कार्यक्रममा नेकका महामन्त्री एवम् सांसद शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, अनुशासन विभाग प्रमुख भीष्मराज आङदम्बेलगायत नेताहरु डेनमार्क आउने कार्यक्रम छ । सांसद बर्माले उक्त प्रशिक्षण कार्यक्रम समापन भइसकेपछि स्वीडेन एवम् नर्वेको भ्रमण गरी बेलायतसमेत आउने बताइएको छ ।
गैरआवासीय नेपाली नागरिकताको प्राप्ति एवम् पूर्व गोर्खाजहरुको हकहितमा आवाज उठाउन सांसद बर्माले यसअगावै बेलायत भ्रमण गरिसकेकी छन् । सांसद बर्माको यसअघिको बेलायत भ्रमण एवम् सम्बोधनले बेलायती नेपाली समाजमा सकरात्मक प्रभाव पारेको थियो ।
नेपाली कांग्रेस कार्यकर्तामाँझ इमान्दार, बौद्धिक छवी बनाएकी बर्मा सिन्धुलीबाट प्रतिनिधित्व गर्छिन् । यसपटकको बेलायत भ्रमणमा सांसद बर्माले एमनेष्टि इन्टरनेशनलका अधिकारीहरुसँग नेपालको मानवअधिकारका बारेमा छलफल गर्ने छिन् । साथै बेलायतका सांसदहरुसँग उनले पनि भेट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
कांग्रेसले नेतृत्व गरेको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सशक्त रुपमा सहभागी भएकी सांसद बर्मालाई बौद्धिक नेतृ मानिन्छ ।






