वार्ताद्वारा समस्याको समाधान खोज्न राजदूत डा. सुवेदीको आग्रह

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकका संघ, संगठनहरुलाई आन्दोलन वा घेराउ भन्दा वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेका छन्। एपीवान टेलिभिजनसंगको सहकार्यमा ‘२४ न्युज प्रेस डटकम’ ले शनिवार अल्डरशटमा आयोजना गरेको ‘एनआरएन बहस’ लाई सम्बोधन गर्दै राजदूत सुबेदीले दुई देश बीचको सम्वन्धमा असर पार्ने कुराले गोर्खा समस्याको समाधान नहुने बताए।

उनले गोर्खा संगठनहरुलाई वार्ताको ढोका बन्द नगर्न अपील गर्दै ब्रिटिश सरकारसंग कूटनीतिक वार्ताको माध्यमबाट गोर्खा समस्याको समाधान हुने विश्वास व्यक्त गरे। कार्यक्रममा एपीवान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले गैर आवासीय नागरिकता तथा लगानी सम्बन्धि प्यानल छलफल संचालन गरेका थिए भने एपीवान टेलिभिजनकै समाचार सम्पादक मोहराज शर्माले गोर्खा सम्बन्धि छलफल संचालन गरेका थिए।

भूतपूर्व गोर्खा सैनिक सम्बन्धी प्यानल छलफलमा गोर्खा अभियन्ता ज्ञानराज राईले ब्रिटेनले नेपाल र नेपालीलाई ऐतिहासिक रुपमा हेपेको कारणले अहिलेको समस्या आएको बताउँदै समान पेन्सन लगायतका मागहरु पुरा गर्न जस्तो सुकै आन्दोलन गर्न पनि आफुहरु तयार रहेको बताए।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का धर्मबहादुर तामांग, बार्नेट काउन्सिलका डेपुटी मेयर लक्ष गुरुङ, नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष केश बहादुर गुरुङ तथा गोर्खा नागरिकता निरन्तरता अभियानका थर्क रानाले गोर्खा समस्या राष्ट्रको समस्या हो भन्दै यसको समाधानका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने बताए।

गोर्खा मामिलाबारे लामो समयदेखि रेपोर्टिंग गर्दै आएका पत्रकार भगीरथ योगीले नेपालमा आमरण अनशन ग्राह्य भए पनि बेलायतमा भोक हड्ताल वा आमरण अनशनलाई शान्तिपूर्ण आन्दोलन नठानिने भएकाले विरोधको त्यस्तो स्वरुप अपनाउनुको सट्टा ब्रिटिश जनमत जित्न प्रयास गर्नुपर्ने सुझाव दिए। उनले वृद्धवृद्धा तथा भूतपूर्व गोर्खा सैनिकका बिधवाहरुलाई भाषा र रेखदेख गर्ने सहयोगीको अभाव भएकाले गोर्खा संघ, संगठनहरुले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे।

गैर आवासीय नेपाली नागरिकता सम्बन्धि छलफलमा बोल्दै गैर आवासीय नेपाली संघका संरक्षक तथा संघको नागरिकता सम्बन्धि कार्यदलका संयोजक रामप्रताप थापाले संसारभरि छरिएर रहेका नेपाली नागरिकहरुको नागरिकतालाई निरन्तरता प्रदान गरेमा नेपाललाई थुप्रै फाइदा हुने बताए। उनले भारत, पाकिस्तान लगायतका मुलुकले विदेशमा बसिरहेका आफ्ना नागरिकहरुलाई स्वदेशको विकासमा सघाउन आह्वान स्मरण पनि गरे। गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल हाल संसदमा विचाराधीन रहेको नागरिकता विधेयकमा गैर आवासीय नेपाली नागरिकता लिन नेपाली भाषा बोल्नै पर्ने, गृह मन्त्रालयमै जानु पर्ने जस्ता प्रावधानहरु हटाउन आग्रह गरे। उनले गैर आवासीय नेपाली संघको माग नेपाली नागरिकताको निरन्तरता नै भएको र त्यो आफुहरुले नछाडेको दावी गरे।

अधिवक्ता गोविन्द बेलबासेले नागरिकता ऐन २०६१ को दफा १० प्रवासी नेपालीहरुका लागि भेदभावपूर्ण रहेको हुनाले त्यसलाई खारेज गरियोस भनेर आफुहरूले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताए। अधिवक्ता नारायण कंडेलले हाल संसारका ४२ मुलुकले दोहोरो नागरिकता दिने गरेको बताउंदै नेपालको नागरिकता ऐन २०६१ को दफा १० खारेज गरिनु पर्ने बताए। उनले विदेशी नागरिकता लिना साथ नेपाली नागरिकता गुम्ने वर्तमान प्रावधान नेपालकै संविधानको मर्म विपरित रहेको दावी पनि गरे। अधिवक्ता सुरेन्द्र श्रेष्ठले आफुले वि सं २०४९ मा लिएको अधिवक्ताको प्रमाणपत्र नवीकरणका लागि जाँदा नवीकरण नगरिदिएकाले अदालत जानु परेको उदाहरण दिंदै सो मुद्दा अझै विचाराधीन रहेको बताए। उनले प्रवासी नेपालीलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्र दिइनु भेदभावपूर्ण हुने बताउँदै प्रवासी नेपालीहरुले नेपाली नागरिक सरह अधिकार पाउने व्यवस्था गर्न माग गरे।

वैदेशिक लगानी सम्बन्धी छलफलमा भाग लिंदै न्यू साउथ वेल्स, अस्ट्रेलियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दीपक खड्काले नेपाली विद्यार्थीहरुले वर्षेनी अरबौं रकम उच्च शिक्षाका लागि अस्ट्रेलिया लगिरहेको तर अस्ट्रेलियाको मान्यता प्राप्त डिग्री अनुरुपको पढाई नेपालमै संचालन गर्न आफुले गएको दुइ वर्षदेखि प्रयास गरिरहंदा पनि अझै सफल नभएको बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिस्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, लगायतका वक्ताले २४ न्युज डटकमलाई जिम्मेवार र उत्तरदायी पत्रकारिता गर्न सुझाव दिंदै सफलताको कामना गरेका थिए ।

एपीवान टेलिभिजनका महाप्रबन्धक विकास लामिछानेले अब बेलायतमा नेपाल अन डिमाण्ड मोबाइल एप डाउन लोड गरि ए पी वन टेलिविजन प्रत्यक्ष हेर्न सकिने बताए। नेपालको अग्रणी सांगीतिक कम्पनि, म्युजिक नेपाल, ले तयार गरेको सो एप www।nepalondemand।com मा गएर डाउनलोड गर्न सकिन्छ । कार्यक्रममा युकेमा विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। आयोजक २४ न्युजडटकमका अध्यक्ष विनय अधिकारीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सफल पार्न सघाउने सबैलाई धन्यवाद दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *