अनमोल अब बलिउडमा जम्ने तयारीमा

नायक अनमोल केसीले एक बलिउड चलचित्रमा सम्झौता गरेको भनेर ‘हमारा महानगर’ नामक भारतीय पत्रिकाले समाचार लेखेपछि यसै सम्बन्धमा चर्चा परिचर्चा बढेको छ । अनमोल स्वयंमले फेसबुकमा ‘टिकेट टू बलिउड’ भन्दै उक्त समाचारको स्क्रीन्सट सेयर गरेका छन् ।

अनमोलले ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’ भन्दा अगाडि नै यो फिल्म साइन गरेका हुन् जसलाई वर्ल्ड वाइड रेकडस् नामको भारतीय म्यूजिक कम्पनीले निर्माण गर्ने भएको छ । चलचित्रको निर्देशन भूवन केसीले गर्ने भनिएको छ जसलाई नेपाली र हिन्दी भाषामा डब गरिनेछ र अंग्रेजी सबटाइटल राखेर रिलिज गरिनेछ ।

हुन त नेपालमा बलिउड चलचित्र खेल्ने भनेर भोजपुरी चलचित्र खेलेका कलाकारहरु पनि छन् । मुलधारको बलिउड फिल्ममा आफूलाई स्थापित गरेकी नेपाली कलाकार अहिलेसम्म मनिषा कोइराला मात्रै हुन् । अब अनमोलले के गर्छन् बलिवुडमा हेर्न सबै उत्सुक छन् । यो चलचित्रको छायांकन फागूण १५ गतेबाट सुरु हुँदैछ ।